इम्यानुअल माक्रोंविरूद्ध मुस्लिम देशमा किन चर्किदै छ आक्रोश ?

एजेन्सी । केही दिनयता मुस्लिम देशमा फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोंप्रति आक्रोश चुलिएको छ।

सरकार प्रमुखसँगै नागरिकस्तरमा पनि उनीविरूद्ध प्रदर्शन, उनको पुत्ला दोहन र फ्रेन्च सामानको बहिष्कार अभियान सुरू भएको छ।

मंगलबार बंगलादेशको राजधानी ढाकामा माक्रोंविरूद्ध विशाल प्रदर्शन गरिएको छ। समाचार संस्था एएफपीका अनुसार इस्लामी आन्दोलन बंगलादेश पार्टीले आयोजना गरेको उक्त प्रदर्शनमा ४० हजार बढी मानिस सहभागी थिए।

राष्ट्रपति माक्रोंले प्रोफेट मोहम्मदको अपमान गर्ने कार्टुन देखाएको घटनाको बचाउ गरेको भन्दै प्रदर्शनकारीले माक्रोंको पुत्ला जलाएका।

केही दिनअघि फ्रान्समा विद्यार्थीहरूलाई मोहम्मदको कार्टुन देखाएर पढाउने शिक्षक स्यामुअल प्याटीको हत्या भएको थियो। राष्ट्रपति माक्रोंले त्यस्ता कार्टुन देखाउनु अभिव्यक्ति स्वतन्त्रता भएको बताएका थिए।

अक्टोबरको सुरूमा माक्रोंले इस्लाम संकटमा रहेको धर्म भएको भन्दै फ्रान्सेलीको रक्षा गर्न इस्लामको पुनर्संरचना गर्नुपर्ने धारणा राखेका थिए।

मंगलबार ढाकामा प्रदर्शन गर्नेहरू फ्रेन्च राजदूतावासमा जान खोजिरहेका थिए। प्रहरीले उनीहरूलाई रोकेको थियो।

‘संसारमा सैतानको पूजा गर्ने केही नेताहरूमध्ये माक्रों एक हुन्,’ आन्दोलनका सदस्य अताउर रहमानले प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने। उनले फ्रेन्च राजदूतलाई देश निकाला गर्न सरकारसँग माग गरे।

अर्का नेता हसन जमलले राजदूत देश छोडेर नगए आफूहरूले दूतावासका एक-एक इँटा निकालेर फाल्दिने चेतावनी दिए।

‘फ्रान्स मुस्लिमको दुश्मन हो। र जो उनीहरूलाई प्रतिनिधित्व गर्छन् ती पनि हाम्रा दुश्मन हुन्,’ आन्दोलनका युवा नेता नसिल उद्दिनले भने।

प्रहरीले आन्दोलनकारीलाई तितरबितर पारे पनि उनीहरूले अर्को गल्लीमा गएर ‘फ्रेन्च सामान बहिष्कार गरौं, माक्रोंले ठूलो मुल्य चुकाउनु पर्नेछ’ जस्ता नारा लगाएका थिए।

यसअघि टर्कीका राष्ट्रपति रेसिप तेइप इर्डोगनले टर्किसहरूलाई फ्रेन्च सामान बहिष्कार गर्न भनेका थिए। उनले राष्ट्रपति माक्रोंलाई मानसिक स्वास्थ्य जाँच गर्न पनि सल्लाह दिएका थिए।

पाकिस्तानको संसदले पेरिसबाट राजदूत फिर्ता ल्याउने प्रस्ताव पारित गरेको छ।

इराक, टर्की गाजामा पनि माक्रोंविरूद्ध प्रदर्शन भएका छन्। साउदी अरेबियाले पनि इस्लामलाई आतंकवादसँग जोड्ने कुराको विरोध गरेको छ। त्यहाँका सुपरमार्केटमा फेन्च सामान बहिष्कार गर्ने कुरा सामाजिक सञ्जालमा टेन्ड्रिङ भइरहेका छन्।

कुवेत, कतार, प्यालेस्टाइन, इजिप्ट, अल्जेरिया र जोर्डनमा पनि फ्रेन्च सामान बहिष्कार गर्ने अभियान चलेको छ।