कोरोना फेरि बढेपछि देशव्यापी आपतकाल घोषणा, रातभर कर्फ्यु

मड्रिड : स्पेनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि देशव्यापी आपत्काल घोषणा गर्दै रात्रिकालीन कर्फ्‍यु जारी गरिएको छ ।

कोरोना भाइरसको संक्रमण फेरि तीव्ररुपमा वृद्धि हुन थालेपछि त्यसको नियन्त्रणका लागि उक्त कदम चालिएको हो ।
प्रधानमन्त्री पेड्रो सान्चेज्‌ले राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु घोषणा गरिएको जानकारी दिएका हुन् ।

उनले कोरोना भाइरसको विश्वव्यापी महामारी देशले सामना गरेको शताब्दीकै सबैभन्दा खराब स्वास्थ्य संकट भन्दै संकटकाल लगाउनु न्यायोचित भएको टिप्पणी गरेका छन् ।

मानिसहरुलाई सकेसम्म घरभित्रै बस्‍न उनले मानिसहरूलाई आह्वान पनि गरेका छन् ।

स्थानीय अधिकारीहरूले संकटकालीन व्यवस्था अनुसार क्षेत्रहरूबीचको यात्रामा समेत रोक्न लगाउन सक्ने बताइएको छ ।

अहिलेसम्म स्पेनमा कोरोना संक्रमितको संख्या १० लाखभन्दा बढी छ भने करिब ३५ हजारको मृत्यु भइसकेको छ ।

स्पेन यो वर्षको सुरुमा महामारीको पहिलो लहरका बेला विश्वमै कडा प्रतिबन्धहरू लगाउने देशहरूमध्ये पर्छ ।अन्य युरोपेली देशहरू जस्तै अहिले स्पेनमा महामारीको दोस्रो लहर देखिएको छ । इटलीले पनि नयाँ प्रतिबन्धहरू घोषणा गरेको छ । – बीबीसी