गण्डकी प्रदेशमा काेराेनाबाट थप ४ जनाको मृत्यु

काठमाडौँ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यो प्रदेशमा कोरोना संक्रमणबाट साेमबार थप चार जनाको मृत्यु भएको छ ।

निर्देशनालयका अनुसार कोरोना संक्रमणबाट नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) कावासोतीका ७७ वर्षीय पुरुषको साेमबार बिहान साढे २ बजे मध्यबिन्दु अस्पताल नवलपरासीमा र सोही जिल्लाको गैंडाकोटका ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट पोखरा महानगरपालिका–१५ का ७८ वर्षीय महिलाको आइतबार राति ११ बजे चरक मेमोरियल अस्पताल पोखरामा र पोखरा–५ का ५५ वर्षीय पुरुषको आइतबार राति ९ बजेर १० मिनेटमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको भएको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

गण्डकी प्रदेशमा साेमबार थप २ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ११ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले बताइन् । रासस