दसैंमा रङरङका टीका यस कारण लगाइन्छ

काठमाडौँ । दसैं भन्नेबित्तिकै धेरैले मस्तिष्कमा रातो टीका र जमराको चित्र आउँछ सोच्छन् । तर नेपालमा समुदाय अनुसार दसैंमा लगाइने टीका फरकफरक हुने गर्छन् ।

दसैंलाई नेवार समुदायले ‘मोहनी’ भन्छन् । नेवारहरूले दसैंमा लगाउने कालो मोहनीकै आधारमा दसैंलाई मोहनी भनिएको हो । नेवारहरूले दसैंमा निधारको मध्यभागमा भुइँ सिन अर्थात् फुस्रो सिन्दुर लगाएर तल वा माथि कालो मोहनी लगाउँछन् । त्यही नै नेवारहरूको दसैंको टीका मानिन्छ ।

संस्कृतिविद् ओम धौभडेलका अनुसार कालो टीकाले मानिसलाई आकर्षित गर्ने क्षमता राख्छ। कालो टीका लगाएको मानिसको अनुहारमा जादु हुने र यसले अरुलाई सम्मोहन गर्ने क्षमता राख्ने धौभडेल बताउँछन् । धौभडेलका अनुसार यो विजयादशमीको किंवदन्तीसित मेल खान्छ। उनी भन्छन्, ‘महिषासुर र दुर्गा देवीको युद्ध चलिरहँदा महिषासुर दुर्गाको मुहार देखेर सम्मोहित भई युद्ध गर्नै बिर्सिएपछि दुर्गाले विजय हासिल गरेको भन्नेसँग पनि मिल्न जान्छ।’

धौभडेलका अनुसार नेवार समुदायमा नवमीको दिनमा आगम घरमा पूजा गर्दा बोका, हाँस, लगायत पशुहरूको बलि दिँदा उनीहरूको रगतको टीका पनि लगाउने मौलिक चलन छ। नवमीकै दिन घरको आगमघरमा पूजा गर्दा बलि दिने क्रममा माटोको पालामा तेल राखेर दियो बालिन्छ । यसरी बालेको दियोको केही माथि अर्काे पालाले छोपिन्छ। दिनभरी नै यसरी छोप्दा माथिबाट छोपिएको पालामा कालो ध्वाँसो जम्मा हुन्छ। बैद्धिक एवं तान्त्रिक विधिबाट निकालेर यसलाई नेवारहरूले दशमीको दिनमा यही मोहनीलाई टीकाका रूपमा लगाउने गर्छन् ।

‘कहिलेकाहीं यो माथि छोपिएको पालामा ध्वाँसो जम्मा नहुन पनि सक्छ,’ उनले भने, ‘यसरी ध्वासो जम्मा भएन भने घरको पूजा गर्ने मानिसको दिन खराब रहेको मानिन्छ। त्यस्तै दिन राम्रो चलिरहेको छ भने ध्वाँसोमा बञ्चरो लगायत विभिन्न आकृतिहरू बन्छ ।’

मोहनी निधारको तल र माथि लगाउने चलनले नेवार समुदायभित्रको जातिगत भेदलाई संकेत गर्छ । श्रेष्ठ समुदायले निधारको तल्लो भागमा र किसान समुदायले माथिल्लो भागमा लगाउने गर्छन् । तर टीका लगाउने चलन कहिलेदेखि सुरु भयो भन्ने नभएको धौभडेल बताउँछन् । टीका लगाउनुले भने मानिसको त्रिनेत्रको संकेत गर्ने धौभडेलले दाबी गरे । उनले भने, ‘मानिसको दुई नेत्र हुन्छ र अर्काे निधारको मध्य भागमा पनि नेत्र हुन्छ भन्ने मान्यता छ । मध्य भागमा टीका लगाएपछि ध्यान केन्द्रित हुन्छ र शक्ति आर्जन हुन्छ ।’ पहिलेदेखिको टीका लगाउने चलन नफेरिएको भए पनि अहिले बजारमा रसायन मिलाएको अबिर लगाउँदा एलर्जी हुने खतरा भने बढेको धौभडेल बताउँछन् ।

नेपालका तामाङ, राई, मगर, गुरुङ, लिम्बु समुदायले दसैंमा दहीमा सेतो चामल मुछेर लगाउने गर्छन् । माघेसंक्रान्तिमा तरुल पोलेको अंगार र काँचो तरुलको टीका लगाउने गरिन्छ भने अन्य बेलामा दही र चामल नै लगाउने चलन रहेको संस्कृतिविद् तीर्थराज मुकारुङले बताए । खेतीकिसानी शूर भएदेखि नै यो चलन चलेको हुनसक्ने उनले अनुमान लगाए । राई समुदायले भदौरे पूर्णिमामा पाकेको धान भित्र्याएपछि नयाँ धानको चामल कुट्ने, चिउरा कुट्ने, नयाँ कोदोको रक्सी बनाउने गरिन्छ ।

‘त्यतिबेला पशुपालन चलेको थियो होला, अनि चामल मात्रै नअडिएपछि दहीमा मुछेर लगाउने चलन सुरु भएको हुनसक्छ,’ उनले भने, ‘त्यो बेलामा प्राकृतिक रंगहरू पनि पत्ता लागेको थिएन होला । त्यसैले सादा नै लगाउने चलन चलेको हुन सक्छ ।’ विवाहका साथसाथै मृत्यु हुदा पनि दु:ख बारीसकेपछि सेतो चामलको टीका लगाउने चलन रहेको उनी बताउँछन् ।

संस्कृतिविद् डा. वीणा पौडेलका अनुसार दसैंमा धानको सग्लो सिता अर्थात् अक्षतालाई निधारमा लगाउने चलन छ । यसले मानिसको जीवन चामलको अक्षता जस्तै पूर्ण होस् भन्ने कामना सहित टीका लगाइदिने चलन रहेको छ । दसैंमा टुक्रिएको आधा चामल प्रयोग गरिदैन । टीकाको रंग समयअनुसार फरक फरक लगाइन्छ । सेतो शान्तिको लागि, पहेलो पितृ कार्यहरूमा र रातो र कालोलाई शक्तिको प्रतीकका रूपमा लिइन्छ ।

तान्त्रिक रुपमा होम वा पूजाहरू गर्दा पनि कालो र रातोको प्रयोग गरिन्छ । पहिले यि रातो, कालो, पहेलो सबै प्राकृतिक वनस्पतीहरूबाट बनाउने गरेपनि अहिले भने केमिकलवाला रंगहरूको प्रयोग बढेको उनी बताउँछिन् । सिन्दुर फल्ने बोट नै हुन्थ्यो, पत्थरहरू घोटेर, वनस्पतिको फुल, पात वा जराको प्रयोग गरेर रंगहरू बनाउने गरेकोमा अहिले केमीकल टीकाहरू आएको उनी बताउँछिन् ।

साहित्यकार धीरेन्द्र प्रेमर्षिका अनुसार तराईमा टीका लगाउने खासै प्रचलन छैन । तर जयन्ती भनेर जमरा भने राखिन्छ । दशमीको दिनमा ठूलाबडाको हातबाट जयन्ती लगाइदिने चलन छ । ‘बरु मिथिलामा घटस्थापनादेखि नौ दिनसम्म शक्तिको पूजाको रुपमा दुर्गा, भगवतीको धुमधामसित मुर्तीहरू बनाई पूजा गरिन्छ,’ उनले भने, ‘प्रत्येक दिन शक्तिपीठहरूमा गएर वा घरमै नुवाईधुवाई गर्ने गरिन्छ । मिथिला नारीहरूले खोइचँ भर्ने भन्दै साडीको सप्कोमा आशीर्वादका चिजहरू पोको पार्ने चलन पनि छ ।’ पश्चिम तराईमा रामले रावणको वध गरेर पुरुषकै वर्चस्व जस्तो देखिन्छ भने मिथिला क्षेत्रमा नारीशक्ति अर्थात् मातृ शक्तिको पुजन गरिन्छ ।

राष्ट्रिय संस्कृतिको प्रभावले अहिले कहिँकतै टीका लगाउने जाने चलन सुरु भएको उनले बताए । उनले बाल्यकालको सम्झना गर्दै भने, ‘पहाडबाट तराईमा बसाइँ सरेका निकट वा आफन्तहरूसित भने टीका लाउन जान्थ्यौँ । यो सामाजिक सौहार्द अहिले घटेको छ । सिको मात्रै गर्न थालेको भान हुन्छ ।’