धितोपत्र बजारको पुँजीकरण २१ खर्ब नाघ्यो

काठमाडौं : नेपालको २१ खर्बभन्दा माथिको बजार पुँजीकरण रहेको धितोपत्र बजारमा ७४ प्रतिशतभन्दा माथि हिस्सा बैंक तथा वित्तीय क्षेत्रको रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७७ भदौ मसान्तमा नेपालमा धितोपत्र बजारको कुल बजार पुँजीकरण २० खर्ब ४९ अर्ब २८ करोड थियो । जुन अहिले अझै बढेर २१ खर्ब नाघिसकेको छ ।

दसैँ बिदा हुनुअगाडि कारोबार भएको अन्तिम कारोबार दिन कात्तिक ६ गतेको धितोपत्र बजारको बजार पुँजीकरण २१ खर्ब ४६ अर्ब छ । लकडाउनयता बजार खुलेपछि नेप्से लगातार बढिरहेको छ । जसले गर्दा दसैँअगाडि धितोपत्र बजारको बजार पुँजीकरण पनि हालसम्मकै उच्च पुगेको हो । २०७७ असार मसान्तमा बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड थियो ।

२०७६ भदौ मसान्तमा ११५०.७ रहेको नेप्से सूचकाङ्‌क २०७७ भदौ मसान्तमा १५४१.४ पुगेको नेपाल राष्ट्र बैंक आर्थिक अनुसान्धान विभागले प्रकाशित गरेको २०७७ भदौको नेपालको आर्थिक तता वित्तीय अवस्थाको प्रतिवेदनमा उल्लेख छ । २०७७ असार मसान्तमा नेप्से सूचकाङ्‌क १३६२.४ थियो ।

२०७७ भदौमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या २१० छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । त्यस्तै ३३ जलविद्युत्‌ कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ थियो । साउन र भदौमा बैंक तथा वित्तीय संस्थाको मर्जरकै कारणले नयाँ कम्पनी सूचीकृत हुँदा समेत सूचीकृत कम्पनीहरुको संख्या घटेको हो ।

सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ७५.८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ५.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.६ प्रतिशत, होटेलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १३.३ प्रतिशत छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ भदौसम्ममा सूचीकृत चार अर्ब ८७ करोड सेयरको चुक्ता मूल्य चार खर्ब ७७ अर्ब ७९ करोड छ । आर्थिक वर्ष ०७७/७८ को दुई महिनामा एक खर्बबराबरको विकास ऋणपत्र, चार अर्ब ४५ करोडबराबरको साधारण सेयर, तीन अर्ब ८७ करोड बराबरको बोनस सेयर, दुई अर्बबराबरको डिबेन्चर, ७० करोडबराबरको हकप्रद सेयर र ६५ करोडबराबरको म्युअचल फन्ड गरी कुल एक खर्ब ११ अर्ब ६७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

यस अवधिमा नेपाल धितोपत्र बोर्डले ९३ करोड ८६ लाखबराबरको साधारण सेयर र ३६ करोड ४० लाखबराबरको हकप्रद सेयर गरी कुल १ अर्ब ३० करोडबराबरको धितोपत्र निष्कासन गर्न अनुमति दिएको छ ।