अमेरिकामा एकैदिन ८३ हजार संक्रमित थपिए, संक्रमण थप खतरानाक हुने

वाशिङ्टन : संयुक्त राज्य अमेरिकामा नोभेल कोरोना भाइरसको संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । स्थानीय स्वास्थ्य अधिकारीका अनुसार शुक्रबार एकदिनमा ८३ हजार १० नयाँ संक्रमित फेला परेका हुन् ।

अमेरिकी सर्जन जनरल जेरोमी अडाम्सले अस्तपाल भर्ना हुनेहरुको संख्या बढ्दै गएको बताएका छन् । तर, अस्तपालमा संक्रमितको हेरचाह राम्रो भएकोले मृत्युदर भने घट्दै गएको उनले बताएका छन् ।

कोभिड ट्र्याकिङ प्रोजेक्टका अनुसार संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ८५ लाख पुगेको छ । यसअघि १७ जुलाईमा अमेरिका सबैभन्दा बढी एकदिनमा ७६ हजार ८४२ कोरोना संक्रमित फेला परेका थिए भने शुक्रबार थप ६ हजारभन्दा बढी ८३ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

अमेरिकामा गत साता चार लाख ४१ हजार ५४१ कोरोना संक्रमित थपिएका छन् भने यो संख्या जुलाईपछिको एक सातामा देखिएको संक्रमितको संख्याभन्दा बढी हो ।

पछिल्लो ६ दिनदेखि लगातार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा पनि वृद्धि हुँदै गएको छ । तर, हाल पनि अप्रिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने कमी आएको छ । अप्रिलमा दैनिक दुई हजारले ज्यान गुमाएका थिए ।

शुक्रबारसम्म ४१ हजार ४८५ जना कोरोना संक्रमित अस्पतालमा उपचाररत रहेका छन् । बिहीबार ७४ हजार ३८० कोरोना भाइरस संक्रमित थपिएका थिए ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले उत्तरी गोलार्धमा रहेका मुलुकहरु ‘गम्भीर मोड’ पुगेको बताएको छ ।

डब्लूएचओका महानिर्देशक टेड्रोस अदानोम गेब्रेयससले भने, “आगामी केही महिना थप कठोर हुने र केही मुलुकहरु खतरानाक अवस्थामा पुग्‍नेछन् ।” -बीबीसी