याे दसैंमा हाँसको बजार प्रभावित

काठमाडौं : कोभिड संक्रमणको जोखिमका कारण यसपटकको दसैंमा हाँसको व्यापारमा पनि असर परेको छ ।

विभिन्‍न जिल्लाबाट काठमाडौंमा आएर हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका छन् । विगतमा भन्दा मूल्य पनि बढेको र कोरोना संक्रमणको जोखिमका कारण ग्राहकहरु नआएकाले व्यापार कम भएको व्यापारीहरुले बताए ।

वीरगन्जदेखि काठमाडौंको सुन्धारामा हाँस बिक्रीका लागि आएका बुखल साहले हाँसको व्यापार यसपटक कम भएको बताए । गत वर्ष १५० भन्दा बढी हाँस बिक्री गरेका साहले यसपटक २०/२५ वटा सम्म पनि बिक्री गर्न नसकेको बताए । हाँस नै बिक्री गर्न नसकेपछि दसैं मनाउनसमेत समस्या हुने उनको भनाइ छ । आफूले ल्याएका सबै हाँस कम मूल्यमा बिक्री गरेर भए पनि दसैं मनाउन वीरगन्ज फर्किनुपर्ने बाध्यता भएको पनि साहले बताए ।

यस वर्ष हाँसको मूल्य पनि बढेको छ । गत वर्ष एउटा हाँसको मूल्य आठ सयदेखि एक हजार रुपैयाँसम्म थियो । तर यस वर्ष एउटा हाँसको मूल्य १३ सय रुपैयाँभन्दा माथि छ । त्यसैले पनि हाँस बिक्री नभएको हुनसक्छ ।

यस्तै काठमाडौं उपत्यकामा दसैंमा पूजा गर्दा वा मन्दिरमा चढाउन हाँस खोज्‍ने चलन छ । त्यसैले पनि दसैंको बेलामा हाँसको बजार पनि राम्रै हुने गर्छ । तर यसपटक अधिकांश मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाइएकाले पनि पशुपक्षीहरुको व्यापार कम भएको छ ।