सुन तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै कपिवस्तु

कपिलवस्तु : जिल्लामा सुन तस्करीको जालो तोड्न नेपाल प्रहरीले विशेष निगरानी बढाएको छ । केही दिनअघि मात्रै जिल्लाको मायादेवी गाउँपालिकाको वनकसियाबाट भारततर्फ लैजाँदै गरेको आधा किलो सुन पक्राउ गरेपछि उत्साहित बनेको प्रहरी अहिले थप सक्रिय बनेको छ ।

आधा किलो सुनसहित पक्राउ परेका मायादेवी गाउँपालिका ४ चाकरचौडाका ३५ वर्षीय पवन कुमार गुप्ता र उनकी बहिनीलाई प्रहरीले बुटवलस्थित राजश्व अनुसन्धान कार्यालय पठाएको छ ।

पक्राउ परेका उनीहरुमाथि राजश्व कार्यालयले थप अनुसन्धान सुरु गरेको छ । सुन तस्करीको घटना आफूहरुले अनुसन्धान गर्ने नभइ राजश्व अनुसन्धान कार्यालयले गर्ने हुँदा पक्राउ परेको भोलिपल्टै बरामद आधा किलो सुन र व्यक्तिलाई राजश्व अनुसन्धान कार्यालय बुटवल पठाएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

पक्राउ परेका पवनकुमार गुप्ता सुन व्यवसायी हुन् । सीमा क्षेत्र चाकरचौडामा घर छ । सीमा पारी भारतीय बजार अलिगढवामा उनको सुन पसल छ । उनी आफु सुन तस्करीको कैरियर नभई सुन व्यवसायी नै हुन् । प्रति तोला करीब ५ हजार रुपैयाँ सस्तो सुन नेपालमा पाईने भएका कारण उनले तौलिहवाबाट सुन खरिद गरेर भारत तर्फ अवैध रुपमा निकासी गर्न लागेको प्रहरीले जनाएको छ ।

यसअघि जिल्लाको सीमावर्ती क्षेत्र कृष्णनगर र चाकरचौडाबाट करीब ५० लाख रुपैया बढी भारतीय रुपैयाँ प्रहरीले पक्राउ बरामद गरिसकेको छ । भारतबाट अवैध रुपमा भित्रने भारतीय रुपैयाँ सुन खरिदका लागि आउने गरेको प्रहरीको अनुमान छ ।

पछिल्ला वर्षमा कपिवस्तु जिल्ला सुन तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको छ । खुला सीमानाको फाइदा उठाउँदै सुन तस्करहरुले तौलिहवा बजारबाट सुन गरिद गरी भारतीय बजारमा लागि बिक्री गर्ने गर्छन् । सुन तस्करीको यो जालो तोड्न आफूहरु सुक्ष्म ढंगबाट सक्रिय भइ लागेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

‘सुन तस्करी नियन्त्रणका लागि विशेष योजना, सुराकी र संयन्त्रको परिचालन गरि अघि बढेको छु,’ प्रहरी उपरीक्षक अधिकारीले भने । सुन व्यवसायी पवन गुप्ता पक्राउ परेसँगै तौलिहवा बजारका सुन व्यवसायीमा त्रास छाएको छ । पक्राउ परेका गुप्ताले सुन कुन पसलबाट खरिद गरेका हुन् ? सो विषय भने अझै खुलेको छैन । राजश्व अनुसन्धान कार्यालयले यससम्बन्धी अनुसन्धानको काम अघि बढाएको जनाइएको छ।