सुन्धारामा रहेको मस्जिदमा तोडफोड

काठमाडौं : काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ ।

शनिबार बिहान नचिनेका समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेका हुन् । एक सय वर्षभन्दा पुरानो भनिएको यो मस्जिद भूमाफियाको तारोसमेत बन्ने गरेको छ । निर्माणधीन धरहराको ठीक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको यो मस्जिदको स्वामित्व नेपाल सरकारसँग छ । भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।

मस्जिद भत्काइएपछि काठमाडौंमा रहेका मुस्लिम समुदाय चिन्तित र आक्रोशित बनेका छन् । मस्जिद परिसरमा भेटिएका मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले भूमाफियाले जग्गा हडप्‍न मस्जिद भत्काउने काम गरेको बताए । यसअघि पनि पटकपटक भूमाफियाले जग्गामा आँखा लगाएर मुस्लिम समुदायलाई धम्क्याउँदै आएको अध्यक्ष अन्सारीले बताए ।

यस्तै मस्जिद रहेको काठमाडौं महानगरपालिका वडा २२ का वडासदस्य गीता परियारले वडाध्यक्षको संलग्नतामा केही भूमाफियाले सधैं मस्जिद खाली गर्न धम्क्याउने गरेको बताइन् ।

यता आजको घटनालाई नेपाल मुस्लिम संघले विरोध जनाएको छ । मुस्लिम संघका अध्यक्ष अब्दुल सतारले आजको घटना मस्जिदमाथिको आक्रमण मात्रै नभएर सम्पूर्ण नेपाली मुस्लिममाथिको आक्रमण भएको बताए ।

यो मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो । यसलाई मुस्लिम समुदायले अस्थायी रुपमा संरचना बनाई प्रयोग गरिरहेका छन् । आजभन्दा एक सय वर्षअघि मुस्लिम धर्मावलम्बीहरु काठमाडौं आउजाउ गर्दा नमाज पढ्ने स्थानका रुपमा स्थापित भएको यो मस्जिदमा अहिले चार प्रहरको नमाज पढ्न मुस्लिम समुदाय पुग्ने गरेका छन् ।