यसपालिकाे दसैँमा भर्चुअल टीका

काठमाडौं । यो वर्ष दसैं मनाउने बहानामा सरकारले गाउँघर नजान आह्वान गरेको छ । कोभिड–१९ को बढ्दो प्रकोपका कारण सरकारले जनतालाई आफू रहेकै स्थानमा बसेर दसैं मनाउन आग्रह गरेको हो ।

कोभिड–१९ को संक्रमणबाट बच्न जो जहाँ जुन अवस्थामा छन्, त्यहीँ बसेर दसैं मनाउनुपर्ने बाध्यता छ । यसले गर्दा पनि यो वर्ष अधिकांश नेपालीको दसैं हर्सोल्लासका साथ बित्ने छैन । कोभिडले नागरिकलाई घरमै थुनिन बाध्य पारेको छ । तर, यस्तो विकराल स्थितिमा प्रविधिले भने केही मद्दत पुर्‍याइरहेको छ । भौतिक रुपमा उपस्थिति भएर दसैं मनाउन कठिन भए पनि प्रविधिले केही हदसम्म सहज बनाएको छ । धेरैको दसैं, भर्चुअल टीका, डिजिटल दक्षिणा हुने सम्भावना छ ।

भक्तपुर बालकोटका ७० वर्षीय कृष्णप्रसाद बञ्जाराले यो वर्ष छोरी ज्याईलाई भौतिक रुपमा दसैंका टीका लगाई दिने छैनन् । उनीहरूले प्रविधिको सहयोगमा दसैंको टीका लगाउने निर्णय गरेका छन् । ‘छोरी बिरामी छन्, बिरामी मान्छे बाहिर हिँडडुल गर्न खतरा छ’, बञ्जाराले भने, ‘भर्चुअल प्रविधिको सहयोगले छोरी ज्वाईलाई टीका लगाइदिन्छु ण्।’

भौतिक रुपमा उपस्थिति भएर दसैं मनाउन कठिन भए पनि प्रविधिले केही हदसम्म सहज भएको छ । दक्षिणाका लागि मोबाइल ब्यांकिङको सुविधा पनि उपयोग गर्न थालेको उनले सुनाए । ‘अहिलेको विषम परिस्थितिमा अन्य पाहुना टीका थाप्न आउने सम्भावना कम छ। छोरी ज्याईलाई टीका लगाइसकेपछि दक्षिणा पनि दिनुपर्‍यो । दक्षिणा दिन खोलिएको मोबाइल बैंकिङ एपले उनको दैनिकी सहज बनाएको छ । ‘पहिला मोबाइलमा ब्यालेन्स राख्न पनि नातिलाई पैसा दिएर दोकान दौडाउनुपथ्र्यो’, उनले भने, ‘अहिले मोबाइल थमाइदिए पुग्छ ।’

धादिङका रामहरि बासकोटाले पनि यो वर्ष दसैं टीका थाप्न आउनेलाई नगद दिने छैनन् । विगतमा पनि उनले इवालेट र मोबाइल बैंकिङ प्रयोग गरी आफन्तलाई डिजिटल भुक्तानी गरेका थिए । यसले गर्दा पनि दसैंको दक्षिणा डिजिटल माध्यमबाट दिने र लिने निर्णयमा पुग्न बल पुगेको छ। दसैंमा नयाँ नोट लिन धेरैले दुःख पाउने गरेका छन् । दक्षिणा नै दिनु पर्छ भन्ने छैन तर आफन्तको हात खाली राख्नु हुँदैन भनेर दक्षिणा दिने चलन छ । अब संस्कृतिलाई पनि प्रविधिअनुरुप विकसित गर्नुपर्ने उनले सुनाए ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघका अध्यक्ष नवराज कुँवरका अनुसार यो वर्ष भर्चुअल प्रविधिमार्फत दसैंको टीका ग्रहण गर्दा उपयुक्त हुन्छ । ‘दसैंको आशीर्वाद मन्त्र ९मुखले बोलेर दिने० हो। अहिलेको विकराल परिस्थितिमा सबैजना आफन्तमा गएर टीका थाप्न कठिन छ’, कुँवरले भने, ‘मानिसकै सहजताका लागि प्रविधिको विकास गरिएको हो ।’ आफू र आफ्ना मान्यजनको स्वास्थ्य रक्षाका निम्ति प्रविधिको प्रयोगबाट दसैं मनाउन सकिने उनको भनाइ छ । अनुहार हेरेर कोभिड कसलाई छ, छैन थाहा पाउन सकिन्न । कोभिडबाट उच्च जोखिममा वृद्ध नै हुन्छन् । मान्यजनकै जीवन खतरा हुनेगरी दसैंको टीका थाप्न जानुभन्दा प्रविधिको प्रयोग उत्तम हुने उनको ठम्याइ छ ।

दसैंको दक्षिणा पनि प्रविधिकै माध्यमबाट दिन सकिने उनी बताउँछन् । त्यसका लागि मोबाइल बैंकिङ, ई वालेटलगायत प्रयोग गर्न सकिन्छ । (अन्नपूर्ण पोस्ट)