दशैँमा बली प्रथा : के भन्छन् संस्कृतिविद्

काठमाडौँ : दशैँमा बली दिने विषयमा दुईमत भाँजिएको छ । एक पक्ष भन्छ, बली प्रथा हाम्रो संस्कृति हो, यसलाई निरन्तरता दिनुपर्छ । अर्को भन्छ, भगवानले रगत चाहँदैनन् । भगवान्ले पनि कहिँ हिंसा चाहन्छन् ? संस्कृतिविद्को नजरले यसलाई कसरी मूल्याङ्कन गर्छ भन्ने कुरा बुझ्नलाई हामीले वाल्मिकी विद्या पीठका प्राचार्य प्राडागणेश घिमिरेसँग कुराकानी गरेका थियौँ ।

त्यसैको आधारमा उहाँले राख्नुभएको विचार यसप्रकार छ ।

‘यो परापूर्वकाल देखि चल्दै आएको रीत हो, परापूर्वकाल देखि चल्दै आएको यो परम्परालाई नामेट पार्ने कुरा हुँदैन ।

नेपालमा विभिन्न उपासनामा आवद्ध मानिसहरु रहेका छन् शाक्तहरुले भगवतीको उपसना गर्छन्, बली दिन्छन् । वैष्णवहरुले विष्णुको उपसना गर्छन्, शैवहरुले शिवको उपासना गर्दछन् । शाक्तहरु शक्तिको उपासक भएकाले भगवतीलाई नै मान्ने गर्दछन् ।

धर्मपुराणमा ब्राह्मणले बाहेक अरुले भगवती शक्तिको उपासना गर्न पाउने कुरा उल्लेख गरिएको छ । तान्त्रिक पक्षबाट हेर्ने हो भने भगवतीलाई शक्तिको रुप मानेको कारणले शक्ति सधैँ रगत चाहन्छ भन्ने कुरा छ ।

जैविक अधिकारको दृष्टिकोणबाट हेर्ने हो भने, यो गलत हो । खसी, बोका, पंक्षी हरेक जीवलाई बाँच्ने अधिकार छ । तर देवी भगवतीको उपासनामा बली दिएर त्यही प्रसाद ग्रहण गर्ने चलन प्राचीनकाल देखि चल्दै आएको हो ।

त्यसैले, यसलाई कुन दृष्टिकोणबाट विश्लेषण गर्ने हो, आत्मसाथ गर्ने हो त्यसमा छुट छ । संस्कृतिविद्ले यसलाई बीचधारबाट मूल्याङ्कन गर्नुपर्छ ।’