१३ वर्षीया छोरी माथि वावुले गरे बन्दुक प्रहार , प्रहार गर्ने वावु कारागार चलान

ओखलढुंगा : ओखलढुङ्गामा छोरीलाई गोली हान्ने एक व्यक्ति कारागार चलान भएका छन् ।

भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका लागि कारगार चलान भएका हुन् ।

ओखलढुङ्गा जिल्ला अदालतको आदेशमा तामाङलाई कारागार चलान गरिएको जिल्ला प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिए ।

तामाङविरुद्ध हातहतियार खरखजना तथा ज्यान मार्ने उद्योगको मुद्दा चलाइएको थियो । तामाङले १३ वर्षीया छोरी फुरीमाया तामाङमाथि असोज १६ गते साँझ भरुवा बन्दुक प्रहार गरेका थिए ।

बन्दुकको छर्रा लागेर फुरीमाया गम्भीर घाइते भएकी थिइन् । प्रहरीले आरोपित तामाङलाई असोज १७ गते पक्राउ गरेको थियो ।

दाहिने खुट्टाको घुँडाभन्दा माथि बन्दुकको छर्रा लागेर घाइते बालिकाको उपचार भइरहेको छ । आर्थिक अवस्था नाजुक भएकी उनको उपचारार्थ वडाध्यक्ष हेमबहादुर सुनुवारले सहयोग रकम जुटाउन शुरु गरेका छन् ।