कोरोनाको उपचारमा नाजुक गण्डकी, घरमै जान्छ संक्रमितको ज्यान

पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले कोरोना संक्रमितको नि:शुल्क उपचार सेवालाई कायम राख्ने बताउँदा उनको प्रसंसा प्रदेश बाहिर पनि भयो।

कोरोना संक्रमितको उपचार र मृत्यु भएमा शव व्यवस्थापन समेत आफैं गर्नुपर्ने भन्दै केन्द्र सरकार जिम्मेबारीबाट पन्छिएकै बेला मुख्यमन्त्री गुरूङले भने गण्डकीमा नि:शुल्क उपचार सेवा जारी राख्ने बताएका थिए।

त्यतिमात्र होइन उनले आफ्नो प्रदेशमा कोरोना नियन्त्रण प्रभावकारी रहेको दाबी गरिरहन्थे। प्रदेश सभा, विभिन्न कार्यक्रम र फेसबुक लाइभमा उनले कोरोना भाइरसको प्रभावकारी नियन्त्रण गर्नेकाममा अरू प्रदेशलाई आफूले जितेर पहिलो भएको भन्न समेत उनले भ्याउँथे।

तर अन्य प्रदेश र देशभरमा संक्रमणको परिक्षण, उपचार व्यवस्था र अरू व्यवस्थापन हेर्दा गण्डकी प्रदेश उनले भनेजस्तो पहिलो छैन।

मुख्यमन्त्री गुरूङका दाबी तथ्याङ्कहरूले झुटो सावित गरेका छन्।

सेतोपाटीले गण्डकी प्रदेशमा अन्यत्रभन्दा उपयुक्त व्यवस्था भए नभएको जाँच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाइ, स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रको तथ्याङ्क हेरेको थियो।

उक्त तथ्याङकले गण्डकी प्रदेशमा कोरोना परीक्षण नै सबभन्दा थोरै देखाएको छ। अन्य व्यवस्तापन पनि त्यति चुस्त छैनन्।
इकाइका प्रमुख डा.समीरकुमार अधिकारीका अनुसार गण्डकी प्रदेशमा कोरोना भाइरसको परीक्षण गर्ने प्रयोगशाला जम्मा दुईवटा छन्, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा कोरोना महामारी आउनुअघि नै विभिन्न भाइरस परीक्षण गर्न ल्याएको आरटी पिसिआर मेसिन र जनशक्ति छन्। उक्त अस्पताल संघीय सरकार मातहत रहेको छ। यो प्रयोगशाला शुल्क तिरेर आफुखुशी कोरोना परिक्षण गराउन आउनेका लागि संचालन गरिएको छ।

प्रदेशले महामारी फैलिएपछि एउटा मात्र अर्थात प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गरेको छ। उक्त प्रयोगशाला कोरोना महामारी फैलिएपछि स्थापना भएको थियो। यसले गण्डकीका जिल्लाहरूबाट कन्ट्याक्ट टेसिङका क्रममा संकलन गरिएका स्वाव परिक्षण हुन्छन्।

गण्डकी प्रदेशभर यीनै दुई प्रयोगशालाले काम चलाइरहेका बेला अन्य प्रदेशमा भने भने ३० वटासम्म प्रयोगशालामा कोरोना भाइरसको परिक्षण भइरहेको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले जनाएको छ।

केन्द्रले उपलब्ध गराएको तथ्याङ्क अनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै ३० वटा प्रयोगशालामा कोरोना भाइरसको परिक्षण भइरहेका छन्। संघीय राजधानी काठमाडौं रहेको बागमती प्रदेशमा सरकारी र निजी प्रयोगशालाहरूले कोरोना भाइरस परिक्षण गरेकाले धेरै देखिनु स्वभाविक भयो।

तर अरू प्रदेशले पनि कम्तिमा ४ वटा प्रयोगशाला सञ्चालन गरेका छन्। कर्णाली प्रदेशमा चार, प्रदेश २ मा पाँच, सुदुरपश्चिम प्रदेशमा ६, प्रदेश १मा ७ र लुम्बिनी प्रदेशमा ८ वटा प्रयोगशाला छन्।

ती प्रयोगशालाहरू प्रदेश सरकारको अगुवाइमा स्थापना र सञ्चालन भइरहेको स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले जनाएको छ।

यता गण्डकीमा भने प्रदेशले एउटा प्रयोगशाला स्थापना गरेपछि कोरोना नियन्त्रणमा देखिने गरी अरू काम गरेको देखिन्न।
फेसबुक मार्फत नियमित लाइभमा मुख्यमन्त्री गुरूङले कोरोना नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने दाबी गरिरहँदा स्वाव दिएर बसेका संभावित संक्रमितले रिपोर्ट कुरेको चारदिन पुगिसकेको हुन्छ।

प्रयोगशाला कम भएकाले रिपोर्ट समयमा आउँदैन। परिक्षण नै पनि कम गरिएको छ।

सातवटै प्रदेश मध्ये कोरोना भाइरसको सबैभन्दा कम परिक्षण गर्ने प्रदेशमा गण्डकी दोस्रो भएको स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रकै अर्को तथ्याङ्कले देखाउँछ।

स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रले मंगलबार प्रकाशित गरेको रिपार्ट अनुसार गण्डकीमा त्यो बेलासम्म ८२ हजार ८६ स्वाव परीक्षण भएको थियो। गण्डकी प्रदेशले भन्दा कम परिक्षण प्रदेश २ ले ८१ हजार ७सय ५९ वटा मात्र स्वाव परिक्षण गरेको छ।
सुदुरपश्चिम प्रदेशमा ८२ हजार ६सय ४७ वटा स्वाव परीक्षण भएको थियो भने कर्णालीमा ८४ हजार १सय ९०।

यस्तै, लुम्बिनी प्रदेशले १ लाख ४२ हजार १ वटा र प्रदेश १ ले १ लाख ७१ हजार ६०९ वटा स्वाब परिक्षण गरेको केन्द्रले जनाएको छ।
गण्डकी प्रदेशमा बुधबार बिहानसम्मको तथ्याङ्क अनुसार ६ हजार १ सय ५ जना कोरोना संक्रमित भइसकेका छन्। गण्डकीमा कोरोना संक्रमितको संख्या पछिल्ला दिनमा बढ्न थालेको छ। सोमबार परिक्षण गरिएका ४ सय ६४ वटा स्वाव मध्ये आधा अर्थात २३० जनामा कोरोना संक्रमण भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

कोरोना परिक्षण गर्ने प्रयोगशालाको अभाव खड्किएको र परीक्षण कम हुँदा संक्रमण बढेको निर्देशनालयका एक स्वास्थ्यकर्मीले बताए।

‘पोजेटिभ केसलाई पुन: परीक्षण गर्नुपर्ने हुन्छ, पुन परिक्षण गर्दा समय लाग्छ’, ती स्वास्थ्यकर्मीले भने, ‘हाम्रोमा कोरोना परीक्षण गर्ने प्रयोगशाला नै कम भयो, समयमा परीक्षण गरेर रिपोर्ट दिन नसक्दा संक्रमण झनै फैलिएर गएको छ।’

कन्ट्याक ट्रेसिङ न आइसियु-भेन्टिलेटर, घरमै जान्छ संक्रमितको ज्यान

बाग्लुङ नगरपालिका–१३ घर भई पर्वतको कुस्मा–५ मेलमिलापचोकमा बस्दै आएकी ४८ बर्षीय वृद्धा असोज अन्तिम साता उपचार गर्न पोखरा आइन्। पोखराको एक निजी अस्पतालमा उपचार गर्दा चिकित्सकले उनलाई कोरोना भाइरस संक्रमण भएको हुन सक्ने अनुमान गरे। स्वाब लिएर परीक्षण गर्न पठाए।

ति महिलाको रिपोर्ट पोजेटिभ आयो, अस्पतालले होम आइसोलेसन बस्नु भनेर पठायो। उनी पोखराबाट सार्वजनिक सवारी चढेर पर्वत गइन्। होम आइसोलेसन बसिन्। बिरामी भएर उपचार गर्न गएकी महिलाको उपचार त भएन नै, कोरोना संक्रमण पुष्टि हुँदा समेत कसैले वास्ता गरेन।

संक्रमण भएर घर गएपछि पनि कुस्माका जनप्रतिनिधिदेखि प्रशासनले थाहा पाएनन्। बिरामी अवस्थामै होम आइसोलेसन बसेकी ति महिलाको असोज ३० गते मृत्यु भयो।

मृत्यु भइसकेपछि मात्र उनमा कोरोना पुष्टी भएको सम्बन्धित निकायले जानकारी लिए।

चिकित्सकका अनुसार यसअघि नै बिरामी भएर अस्पाल पुगेकी ति महिलालाई आइसियुमा राखेर उपचार गर्नुपथ्र्यो। तर प्रदेशका कुनै पनि निकायले यसबारे सोधखोज गरेनन्। संक्रमण पुष्टि भएपछि पोखरामा उनी चढेको ट्याक्सी, पर्वत जाँदा चढेको सार्वजनिक सवारी र तिनका यात्रुको कन्ट्याक्ट ट्रेसिङ समेत भएको छैन।

पछिल्लो समय कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ नै हुन छाडेको स्वास्थ्यकर्मीहरूले बताउँछन्। उनीहरूका अनुसार संक्रमितको सम्पर्कमा भएका केही मानिस आफै स्वाब दिन जाने गरेका छन्। तर प्रदेश र जिल्लाका स्वास्थ्य टोलीले सोधखोज गर्न छाडेका छन्।

आइसियुमा राखेर उपचार गर्नुपर्ने बिरामीले बेलैमा उपचार नपाउँदा मृत्यु भएको घटना अर्को पनि छ। लमजुङको मध्यनेपाल नगरपालिका करापुटारका ५२ बर्षीय पुरूषलाई भदौ दोस्रो साता श्वास– प्रश्वासमा समस्या आयो। उच्च रक्तचापका बिरामी रहेका उनलाई पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइयो। अस्प्तालले कोरोना संक्रमणको आशंकामा स्वाब लिएर घरमै बस्नु भनेर पठायो।

स्वाब दिएको दुई दिनपछि रिपोर्ट पोजेटिभ आयो। अस्पतालको ‘कोभिड–१९ उपचार केन्द्र’ लैजादै गर्दा उनको मृत्यु भयो। जिल्लामा रहेका निजी र सरकारी दुवैथरी अस्पतालमा भेन्टिलेटर र आइसियु कक्ष नहुँदा उनलाई पोखरा ल्याउनुपरेको थियो।

स्वाब परिक्षणको रिपोर्ट आउनुअघि आइसियुमा राखेर उनको उपचार गर्न अस्पतालले नमानेको परिवारजनले बताएका छन्।

गण्डकी प्रदेशमा गम्भीर प्रकृतिका बिरामीलाई अहिले पनि पोखरा ल्याएर उपचार गर्नुपर्छ। किनकी जिल्लाका अस्पतालहरूमा भेन्टिलेटर र आइसियु बेड छैनन्। गण्डकीको नवलपुर जिल्लाका बिरामी भरतपुर गएर उपचार गर्छन् भने बाँकी जिल्लाका पोखरा धाउँछन्।

कोरोना भाइरसको महामारी सुरू भएपछि प्रदेश सरकारले सबै जिल्ला अस्पतालमा भेण्टिलेटर सहित आइसियु स्थापना गर्न बजेट पठाएपनि जिल्ला अस्पतालहरूले अहिलेसम्म भेण्टिलेटर र आइसियु बेडको स्थापना गर्न सकेका छैनन्।

मनाङ र मुस्ताङका जिल्ला अस्पतालमा २ वटा भेन्टिलेटर र ३ बेडको आइसियु कक्ष स्थापना गर्न र बाँकी ९ वटा जिल्ला अस्पतालमा ३ वटा भेन्टिलेटर र ५ बेडको आइसियु कक्ष स्थापना गर्न बजेट पठाएको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखा प्रमुख डा. रामबहादुर केसीले बताए।

तर अस्पतालहरूले भेन्टिलेटर खरिद र आइसियु कक्ष स्थापना गर्न सकेनन्। लकडाउनका कारण सामाग्रीको अभाव, मुल्यवृद्धी लगायतका कारण गत आर्थिक बर्षमै भेन्टिलेटर र आइसियु कक्षका लागि आवश्यक उपकरण खरिद गर्न नसकेको डा. केसीको भनाइ छ। अहिले नवलपुरको मध्यविन्दु अस्पताल र बाग्लुङ स्थित धौलागिरी अञ्चल अस्पतालमा १/१ वटा भेन्टिलेटर र ५/५ बेडका आइसियु कक्ष स्थापना भएका छन्।

गोरखा जिल्ला अस्पताल र तनहुँ जिल्ला अस्पतालमा भेन्टिलेटर र आइसियु कक्ष स्थापना गर्न केन्द्र सरकारबाट बजेट आएको छ।

पर्वत र म्याग्दीका जिल्ला अस्पतालले पनि भेन्टिलेटर खरिद गरिसकेको र आइसियु कक्ष स्थापना गरिसकेको डा. केसीले बताए।

लमजुङ, स्याङ्जा, तनहुँ र मुस्ताङले भने अहिलेसम्म उक्त सामाग्री खरिद गर्न टेण्डर आह्वान समेत गरेका छैनन्। यस बर्षको बजेट मार्फत भेन्टिलेटर सहितको आइसियु कक्ष स्थापना गर्न प्रदेशले १२ करोड रुपैयाँ छट्याएको छ।

प्रदेशले जिल्ला अस्पतालमा भेन्टिलेटर र आइसियु कक्ष स्थापना गर्न बजेटको व्यवस्था गरेपनि जनशक्तीको व्यवस्थापन भने गर्न नसकेको जिल्ला अस्पतालका प्रमुखहरू बताउँछन्। त्यसैले ति उपकरण किनिहाले पनि सञ्चालनमा समस्या आउने एक जिल्ला अस्पतालका प्रमुखले बताए।

‘भेण्टिलेटर र आइसियु कक्ष चलाउन त्यही अनुसारको जनशक्ती चाहिन्छ, जुन जिल्ला अस्पतालको दरबन्दीमा छैन,’ उनले भने, ‘भेण्टिलेटर र आइसियु छन् भनेर मात्र पनि हुन्न।’

प्रदेशको स्वास्थ्य महाशाखा प्रमुख डा. केसीले भेन्टिलेटर र आइसियु कक्षमा खटिने स्वास्थ्यकर्मी भर्ना गर्न प्रदेश मन्त्रिपरिषदमा प्रस्ताव पठाउने तयारी गरेको बताए।

प्रदेशमा रहेका ११ वटा जिल्ला अस्पतालमा आइसियु र भेन्टिलेटर अनि तिनलाई चाहिने जनशक्ति थप गर्न बार्षिक ९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको उनले जानकारी दिए।

कोरोना भाइरसको महामारी फैलनुअघि पोखरा बाहेक गण्डकीका अन्य जिल्लामा भेण्टिलेटर र आइसियु कक्ष थिएनन्। कोरोना महामारी फैलिएपछि जिल्ला अस्पतालमा उक्त व्यवस्था गर्न लागेको हो । तत्कालका लागि भेन्टिलेटर र आइसियु कक्ष चलाउन जिल्ला अस्पतालका २/२ जना स्वास्थ्यकर्मीलाई तालिम दिएको डा. केसीले बताए।

गण्डकी प्रदेशमा अहिले निजी र सरकारी गरी ८५ वटा अस्पताल छन्। ६३ वटा अस्पताल निजी हुन् भने २२ वटा अस्पताल सरकारी हुन्। भेन्टिलेटर सहित आइसियु कक्ष भएका अस्पताल प्रदेशभर जम्मा २९ वटा छन्। यी सबै अस्पतालमा १सय ५७ वटा आइसियु बेड छन् भने ५७ वटा भेन्टिलेटर छन्। एकाध जिल्ला बाहेक सबै पोखरामा छन्। त्यो पनि पनि निजी अस्पतालमा धेरै। गण्डकी प्रदेशभरका सरकारी अस्पतालमा जम्मा ३९ बेड आइसियु र १२ वटा भेन्टिलेटर।

गण्डकीमा रहेका सरकारी अस्पताल मध्ये सबै भन्दा ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १९ बेड आइसियु र ५ वटा भेन्टिलेटर छन्। उक्त अस्पतालले बनाएको कोभिड–१९ उपचार कक्षमामा भने जम्मा ६ बेडको आइसियु छ भने २ वटा मात्र भेन्टिलेटर राखिएको छ।

यस्तै, बाग्लुङ स्थित धौलागिरी अञ्चल अस्पतालमा ३ बेडको आइसियु र ३ वटा भेन्टिलेटर छन् भने गोरखा जिल्ला अस्पतालमा २ बेड आइसियु र एउटा भेण्टिलेटर छन्। उता साउन १ गतेदेखि प्रदेश सरकारले आफु मातहत ल्याएको संक्रामक तथा सरूवा रोग अस्पतालमा एउटा भेन्टिलेटर र ५ बेडको आइसियु छ। तिनैपनि नियमित उपचारमा आउने बिरामीलाई पुगिराखेको हुन्न।

पोखरमा सरकारले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र संक्रामक तथा सरूवा रोग अस्पतालमा संक्रमितलाई राख्न आइसोलेसनको व्यवस्था गरेको थियो। संक्रमितको संख्या बढे अनुसार आइसोलेसन बढाउन नसकेपछि अहिले अधिकांश संक्रमितलाई होम आइसोलेसनमा राखिएको छ।

प्रदेश मातहतको एक मात्र कोरोना अस्पताल संक्रामक तथा सरूवा रोग अस्पतालको आइसोलेसनमा बसेका गम्भीर प्रकृतिका संक्रमितलाई आइसियु र भेन्टिलेटर चाहियो भने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजानुपरेको अस्पतालले जनाएको छ। उक्त आइसोलेसनमा बसेका एक संक्रमितलाई गम्भीर स्वास्थ्य समस्या देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याउँदा २ महिना अघि एक पुरूषको मृत्यु समेत भएको थियो।

गण्डकीमा कोरोना संक्रमणको परीक्षणदेखि उपचारसम्मको अवस्था नाजुक भएपनि मुख्यमन्त्री गुरूङ भने फेसबुक लाइभ मार्फत अन्य प्रदेशमा भन्दा उच्च व्यवस्थापन गरेको बताइरहेका छन्। यता संक्रमितको ज्यान भने गइरहेको छ।