रिचार्ज कार्डबाट मोटरसाइकल चोरी गर्ने समूह पक्राउ

भक्तपुर: भक्तपुर प्रहरीले मोबाइल रिचार्जको पिन नम्बर पछ्याउँदै मोटरसाइकल चोरी गर्ने समूहका तीनजनालाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले रिचार्ज कार्डको आधारमा एकैदिन चोरी भएका चारवटा मोटरसाइकलसहित तीनजनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले रामेछापको ठोसे ३ घर भई हाल भक्तपुरको मध्यपुर थिमि

नपा ८ बोडे बस्ने १८ वर्षीय अरुण तामाङ, दोलखाको भीमेश्वर नपा ४ घर भई हाल बोडेमै बस्ने २२ वर्षीय महेश तामाङ र सिन्धुपाल्चोक पाचँपोखरी थाङपाल गाउँपालिका ७ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नपा ९ मूलपानी बस्ने २९ वर्षीय मनोज लामालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट लु ६३ प ७०७४ नम्बरको २२० सीसीको एनएस पल्सर मोटरसाइकल, प्रदेश ३–०३–०१० प १५६७ नम्बरको २२० सीसीकै रातो कालो रंगको पल्सर मोटरसाइकल, प्रदेश ३–०२–०१८ प ४७४१ नम्बरको २२० सीसीकै नीलो पल्सर मोटरसाइकल र प्रदेश ३–०२–००३ प ३८३५ नम्बरको २२० सीसीकै सेतो रंगको एनएस पल्सर मोटरसाइकल बरामद भएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

उनका मध्यपुर थिमि नपा ३ कौशलटारबाट सोमबार बिहान चोरी भएको लु ६३ प ७०७४ नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरेर प्रदेश ३–०२–०१७ प ६१६७ बनाइसकेको थियो । सोही मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई पछ्याउने क्रममा थप दुई व्यक्ति र ३ वटा चोरीका मोटरसाइकल बरामद भएको प्रहरी नायब उपरीक्षक कँडेलले बताए ।

उनका अनुसार मध्यपुर थिमि नपा ३ कौशलटार बस्ने रोहन पराजुलीको घर अगाडि पार्किङ गरी राखेको लु ६३ प ७०७४ नम्बरको मोटरसाइकलबाहेक अन्य चोरीका मोटरसाइकलका सवारी धनी खुल्न आएको छैन ।

प्रहरी अप्रेसनको नाउँ नै ‘अप्रेसन रिचार्ज कार्ड’

घटना विवरणअनुसार सोमबार बिहान अन्दाजी ९ बजे आफ्नै घरअगाडि पार्किङ गरिराखेको मोटरसाइकल चोरी भएपछि मध्यपुर थिमि नपा ३ कौशलटार बस्ने रोहन पराजुलीले तत्काल प्रहरीलाई खबर गरे ।

रोहनको लु ६३ प ७०७४ नम्बरको एनएस २०० सीसी बजाज कम्पनीको कालो रङ्गको पल्सर मोटरसाइकल हराएको सूचना प्राप्त हुनासाथ वृत्त र अपराध महाशाखा पीसीसीबीको संयुक्त टोली परिचालन भएको वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक कँडेलले जानकारी दिए ।

‘घटनास्थलमा सूक्ष्म अनुसन्धान गर्दा चोरी भएको ठाउँ नजिकै शंकास्पद व्यक्ति आई मोबाइलको रिचार्ज गरेको र सोही समयमै मोटरसाइकल हराएको भन्ने यकिन भएको थियो’, उनले भने, ‘सोही स्थानमा रिचार्ज कार्डसमेत फेला परेको थियो । सोही रिचार्ज कार्डलाई आधार मानेर ‘अप्रेसन रिचार्ज कार्ड’ नामबाट अनुसन्धान सुरु गरेका थियौं ।’

उक्त रिचार्ज कार्डको आधारमा चोरी भएको करिब ५ घन्टामा मोटरसाइकलसहित चोरी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरी सफल भएको प्रहरी नायब उपरीक्षक कँडेलले जानकारी दिए ।

उनका अनुसार ‘अप्रेसन रिचार्ज कार्ड’ अनुसन्धान हुँदै सोमबारनै दिउँसो साढे ३ बजे मध्यपुर थिमि नपा २ मगरगाउँस्थित साजन न्यौपानेको घर अगाडि पार्किङ गरी राखेको प्रदेश ३–०२–००३ प ३८३५ नम्बरको एनएस २०० सीसीकै बजाज कम्पनीको सेतो रङ्गको अर्को पल्सर मोटरसाइकल चोरी भएको वृत्तमा जानकारी आएको थियो ।

लगत्तै प्रहरीले दुइटै चोरीको घटनालाई समानान्तर रुपमा अनुसन्धान गर्दै जाने क्रममा प्रहरीले मध्यपुर थिमि नपा ८ बोडेस्थित बोडे पेट्रोल पम्प नजिकै रहेको गार्मेन्ट अगाडि लु ६३ प ७०७४ नम्बरको मोटरसाइकल फेला पार्न सफल भएको उनको भनाइ थियो । उक्त मोटरसाइकल फेला परेपछि प्रहरी चोरी गर्ने व्यक्तिको निगरानीमा बसेका थिए ।

‘निगरानी गरेको केही समयपछि उक्त ठाउँमा प्रदेश ३–०३–०१० प १५६७ नम्बरको २२० सीसीको रातो कालो रंगको पल्सर मोटरसाइकलसहित रामेछाप ठोसे ३ का अरुण तामाङ आएका थिए’, प्रहरी नायब उपरीक्षक कँडेलले भने, ‘मोटरसाइकल पार्किङ गरेपश्चात प्रहरीलाई देखेर भाग्दै गर्दा करिब दुई सय मिटर टाढाबाट अरुणलाई नियन्त्रणमा लिएका थियौं ।’
तर अरुणले रोहन पराजुलीको मोटरसाइकल चोरी नगरेको अनुसन्धानको क्रममा देखिएको उनको भनाइ थियो ।

‘अरुणसँग सोधपुछ गर्ने क्रममा रोहन पराजुलीको मोटरसाइकल चोरी गर्ने दोलखाको भीमेश्वर नपा ४ का महेश तामाङलाई मध्यपुर थिमि नपा ८ बोडेस्थित कोठाबाट नियन्त्रणमा लिन सफल भयौं’, प्रहरी नायब उपरीक्षक कँडेलले भने, ‘महेशलाई रिचार्ज कार्ड बेच्ने पसलेसमेत सनाखत गरेका छन् ।’

उनका अनुसार महेश पेशेवर मोटरसाइकल चोर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनकै बयानको आधारमा प्रहरीले सिन्धुपाल्चोक पाचँपोखरी थाङपाल गापा ७ का मनोज लामालाई मूलपानीबाट पक्राउ गरेको छ । प्रहरीले मनोजको साथबाट प्रदेश ३–०२–०१८ प ४७४१ नम्बरको २२० सीसीको नीलो पल्सर मोटरसाइकल बरामद गरेको छ ।

त्यस्तै महेशको बयानको आधारमा मध्यपुर थिमि नपा ५ कमेरोटारबाट चोरी गरिएको प्रदेश ३–०२–००३ प ३८३५ नम्बरको २२० सीसीकै सेतो रंगको पल्सर एनएस मोटरसाइकल बरामद गरिएको गरिएको छ ।

‘मोटरसाइकल चोरी सम्बन्धमा थप अरु व्यक्तिहरूको संलग्नतालगायतका विषयमा सूक्ष्म रूपमा अनुसन्धान अगाडि बढाइरहेका छौं’, प्रहरी नायब उपरीक्षक कँडेलले भने, ‘अरु चोरीमा हत्तपती मोटरसाइकल भेटिँदैन तर सोमबार एकैदिन तीनजना व्यक्ति र चारवटा चोरीका मोटरसाइकल फेला पारेका छौं ।’

उनका अनुसार चोरहरुले मास्टर साँचो प्रयोग गरेर पार्किङमा राखेका मोटरसाइकल चोरी गर्ने गरेको अनुसन्धानका क्रममा खुल्न आएको छ । त्यसमाथि चोरहरुले २०० सीसीको पल्सर मोटरसाइकल बढी चोर्ने गरेका छन् । उक्त मोटरसाइकलमा मास्टर साँचो लाग्ने गरेको उनी बताउँछन् ।