बजार अनुगमनका क्रममा बरामद सात लाखका खाद्य सामग्री नष्ट

चितवनः विभिन्न समयमा चितवनमा गरिएको बजार अनुगमनका क्रममा बरामद गरिएका म्याद गुज्रिएका वस्तुहरु मंगलबार नष्ट गरिएको छ । बजार अनुगमनका क्रममा बरामद भएका म्याद गुज्रिएका पेय पदार्थ, दैनिक उपभोग्य वस्तुहरु विभिन्न सरोकारवालाहरुको रोहबरमा नष्ट गरिएको हो ।

बजारमा भएका खाद्य उद्योगहरुलाई सजग गराउँदा समेत म्याद गुज्रिएका बस्तुहरु बजारमा भएका कारण अनुगमनलाई तीव्र पारिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य अनुसन्धान अधिकृत घननाथ अधिकारीले बताउनुभयो । उद्योगी, व्यवसायी तथा बिक्रेतालाई पटक पटक म्याद गुज्रिएको खाद्य पदार्थहरु बिक्री नगर्न अनुरोध गर्दा समेत अटेरी गरेका कारण बरामद गरेर नष्ट गरिएको अधिकारीले बताउनुभयो ।
जिल्लामा स्थानीय तहसँग समन्वय गर्दै घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयलगायतले अनुगमन गर्दैै आएका छन् । सरकारी कार्यालयले गर्ने अनुगमन बजार केन्द्रित र चाडपर्व लक्षित मात्रै हुने आम उपभोक्ताहरुको गुनासो समेत रहेको छ । बजारको समयमा अनुगमन बढी हुने गरिएको भएपनि अन्य समयमा समेत अनुगमन भइरहेको घरेलु तथा साना उद्योग कार्यालय चितवनका निमित्त प्रमुख उद्योग अधिकृत नारायण प्रसाद लम्सालले बताउनुभयो ।
बजार अनुगमन गरिएपनि कारबाही नहुँदा व्यवसायीको मनोबल बढ्ने गरेको उपभोक्तासँग सरोकार राख्ने व्यक्ति तथा संघसंस्था बताउँछन् । म्याद गुज्रिएको खाद्य पदार्थ विक्री वितरण गर्ने तथा तथा कालोबजारी गर्ने व्यवसायीलाई कडा कारबाही भएमा उपभोक्ता ठगिनु नपर्ने उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका वरिष्ठ उपाध्यक्ष विष्णु भुषालले बताउनुभयो ।
पछिल्लो समय जिल्लामा अनुगमनलाई तीव्र पारिएको छ । चाडपर्व नजिकिएसँगै व्यवसायीहरुले उपभोक्तालाई ठग्ने र म्याद गुज्रिएको खाद्य पदार्थ बिक्री गर्ने प्रयास समेत हुने गरेको पाइन्छ । जिल्ला बजार अनुगमन टोलीले बजारमा गरेको अनुगमनका क्रममा बरामद गरेका चकलेट, विस्कुट, वियर, तेल, घ्यु, पेय पदार्थ सहितका करिब सात रुपैयाँ बराबरको सामग्री मंगलबार नष्ट गरिएको हो ।