क्लबहरुलाई खेलकुद सामग्री प्रदान

चितवनः चितवन जिल्ला खेलकुद संघले जिल्लाका फुटलब क्लबहरुलाई खेलकुद तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
शनिबार कृष्णपुरमा आयोजित विजया दशमी, दीपावली एवम् छठको शुभकामना आदान प्रदान कार्यक्रम गर्दै जिल्लाका क्लबहरुलाई सामग्री हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्लेले खेलकुदले समाज र राष्ट्रलाई धेरै कुरा दिने बताउनुभयो । खेलकुदले खेलाडीका साथै समुदायमा समेत गतिशिलता प्रदान गर्ने भन्दै वडाध्यक्ष काफ्लेले खेलकुदको माध्यमबाट मानिसहरु अनुशासीत समेत बन्ने बताउनुभयो ।
केही व्यक्तिहरुमा अझै पनि खेलविरोधी मानसिकता भएकाले उनीहरुको त्यस्तो विचारधारा हटाउनका लागि यूवाहरुको ठूलो भूमिका रहने काफ्लेको भनाइ छ । वडा कार्यालयले खेलकुदलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको काफ्लेले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा अनिलविक्रम कार्कीले कोभिड–१९ को जोखिम कायम रहेको भन्दै नियमित रुपमा हात धुने, मास्क लगाउने तथा भिडभाड भएको ठाउँमा नजानु नै यसको उपचार भएको बताउनुभयो । यसलाई खेलवाडको रुपमा नलिन भन्दै डा कार्कीले दसैँको समयमा समेत ज्येष्ठ नागरिक तथा दीर्घ रोगी भएको ठाउँमा टीका लगाउन नजान आग्रह गर्नुभयो । कोभिडको संक्रमणबाट जोगिनका लागि कम समय बाहिर बस्न सुझाव दिँदै कार्कीले प्रविधिलाई उपयोग गरेर काम गर्न आग्रह गर्नुभयो ।
जिल्ला सम्पूर्ण क्लबहरुलाई प्रति क्लब तीन थान फुटबल तथा एक थान थर्मल प्रदान गरिएको चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले बताउनुभयो । कोरोनाका कारण ठप्प भएको खेलकुदका गतिविधिलाई पुनः सञ्चालन गराउनका लागि क्लबहरुलाई फुटबल उपलब्ध गराइएको कार्कीको भनाइ थियो । चितवन जिल्ला फुटबल संघका सदस्य प्रकाश भुजेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा भरतपुर ७ का वडा सदस्य राजेन्द्रबहादुर तामाङ, अखिल नेपाल रेफ्री संघका केन्द्रीय सदस्य वीरेन्द्र पाण्डेलगायतले मन्तव्य राख्नुभएको थियो ।