सामाजिक अपराध विरुद्ध चौबीसकोठीमा विरोध प्रदर्शन

चितवनः समुदायमा बलात्कारका घटना बढ्दै गएको भएपनि पीडितले न्याय नपाएको भन्दै चितवनको भरतपुरमा युवाहरुले प्रदर्शन गरेका छन् ।
सामाजिक सञ्जालमा सक्रिय रहेका चितवनका युवाहरु स्वतःस्फूर्त रुपमा भरतपुरको चौबीसकोठीमा भेला भएर बलात्कार जस्तो जघन्य अपराधको विरुद्ध प्रदर्शन गरेका हुन् । साना बालिकादेखि वृद्धासम्म सबै उमेर समूहका व्यक्तिहरु बलात्कारको सिकार हुँदा समेत सरकारले बलात्कारीलाई कारबाही गर्न नसकेको भन्दै उनीहरुले नाराबाजी समेत गरेका थिए । समाजमा दण्डहिनता बढेको भन्दै हरेक घरबाट यसको प्रतिकार नगरेसम्म पीडित परिवारले न्याय नपाउने प्रदर्शनमा सहभागी यूवाहरुको भनाइ छ ।
युवाहरुले बलात्कारजन्य सामाजिक अपराधको विरोध गर्दै कालो कपडा लगाएर प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा सहभागीहरुले बोल नारी बोल तिम्रो मौनताले बलात्कारीको मनोबल बढ्यो, मौन बसेर भएन दिनदिनैको अत्याचार सहिन्न, असल पुरुषले बलात्कार गर्दैन, कहाँ छ सुरक्षा ? न छाउपडी न क्वारेन्टिन न बाटो न गाडी न झुपडी, जुन देशमा महिला राष्ट्रपति त्यही देशमा छ नारीको यो गती लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेका थिए ।