शरदीय नवरात्र सुरु : कुन दिन कुन देवीको पूजा ?

आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको स्मरणमा मनाइने नवरात्र शनिबारदेखि सुरु भएको छ । एक महिना लामो मलमास शनिबार बिहान १ बजेर ५३ मिनेटमा सकिएसँगै शारदीय नवरात्रको सुरुवात हुने भएको हो ।

दूर्ग नाम गरेको ऋषिलाई वध गरेको आधारमा दूर्गा नाम राखिएकी देवीको नौ वटा स्वरूपलाई पूजा गरेर नवरात्र मनाउने गरिन्छ । नवरात्र सकिएपछि देवीले आसुरी शक्तिको वध गरेको स्मरणमा विजयको टीका लगाएर यो पर्व सम्पन्न गर्ने गरिन्छ, यस्तो टीका कतै एकदिनमात्रै लगाउँछन् भने नेपालको समेत कतिपय ठाउँमा ५ दिनसम्म लगाउने गरिन्छ ।

के-के हुन् नवरात्रमा गरिने कार्यहरू ?

नवरात्रको पहिलो दिन शनिबार घरघरमा विधिपूर्वक पूजाआजागरी घटस्थापना राख्ने गरिन्छ । घटस्थापनाको दिन विधिपूर्वक नवदूर्गा खडा गर्ने, त्यसैमा जमरा राख्ने र नित्य १० दिनसम्म पूजा गर्नको लागि छुट्टै किसिमको दशैंघरको रूपमा विकास गर्ने गरिन्छ ।

घटस्थापनामा नौ वटा शुद्ध पातबाट बनेको बोहोतामा शुद्ध माटो राखेर त्यसमा जौ, धान, मकै जस्ता अन्न छरिन्छ । यी सबै विधि सुरु हुनुपूर्व दशैंघरलाई नै शुद्ध बनाउनुपर्छ । जमरामा जौ सबै क्षेत्र र जातिका मान्छेले राख्ने गर्छन् । तर मकै र धान भने केही जातिले राख्छन् धेरैले राख्दैनन् ।

विजयादशमीको दिन पहेँलो जमरा लगाउने गरिन्छ । जमरा पहेँलो होस् भन्नेको लागि नै सूर्यको किरण देखाउनु हुँदैन भन्ने मान्यता छ । त्यो पूजा विधि गोप्य हुने भएकोले पूजारी बाहेक अरूले हेर्न समेत हुँदैन भन्ने मान्यता छ ।

यसरी नौ वटा बोहोतामा चामल र कलश सहित स्थापना गरिएका देवीलाई छुट्टाछुट्टै दिनमा विशेष पूजा गरिन्छ । तोकिएको दिनबाहेक अरु दिन अरूदेवीलाई दूर्गाको परिवारको रुपमा सामान्य पूजा मात्रै गरिन्छ । जस्तो नवरात्रको पहिलोदिन शैलपूत्रीको पूजा हुन्छ । यस दिन अरु देवीको सामान्य पूजा मात्रै हुन्छ भने देवीको यो स्वरुपको विशेष पूजा हुन्छ ।

यो नौ दिनसम्म सम्भव हुनेले शक्तिपीठमा गएर पनि पूजा गर्ने गर्छन् । तर यो वर्ष कोरोना महामारीका कारण शक्तिपीठमा पूजा गर्ने अवस्था नभएकोले घरमा नै स्थापित दूर्गालाई पूजा गर्ने गरिन्छ ।

यसरी नौ दिनसम्म गोप्य पूजाविधिबाट पूजा गरेको जमरालाई विजयादशमीको दिन विधिपूर्वक आफ्ना मान्यजनको हातबाट जमरा लगाएर आशीर्वाद लिने गरिन्छ । बलीको चलन भएकाहरूले आफ्नो संस्कार अनुसार सप्तमी, अष्टमी र नवमीको दिन बली दिने गर्छन् । तर दशमीको दिन भने बिहान नित्य पूजा सम्पन्न गरेर शुभ साइतमा टीका मात्रै लगाउने गरिन्छ ।

कुन दिन कुन देवीको हुन्छ पूजा ?

नवरात्रको पहिलो दिन अर्थात् शनिबार देवी शैलपुत्रीको पूजा आराधना गरी नवरात्रको सुरुवात गरिन्छ । शैलपुत्री भनेको पार्वतीको स्वरूप हो । आफ्ना पति महादेवको आलोचना सुन्न नसकेर अग्निमा हामफालेकी सतिदेवीले अर्काे जन्ममा हिमालयकी पुत्री पार्वतीको रुपमा जन्म भएको भन्ने स्कन्धपुराणमा उल्लेख छ । तिनै पार्वती स्वरुपको पहिलो दिन पूजा गर्ने गरिन्छ ।

दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा हुने गर्छ । यहाँ ब्रह्म शब्दको अर्थ तपस्या भन्ने हो । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता छ ।

त्यस्तै, तेस्रो दिन आराधना गरिने देवी चन्द्र घण्टा, चौथो दिन कूष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनीको दिनसम्म सामान्य दशैं घरमा पूजा बाहेक खासै विशेष केही पनि कर्म गरिँदैन ।

तर दशैंको सातौ दिन अर्थात् सप्तमीको दिनदेखिको ४ दिन दशैंको विशेष कर्म हुने गर्छ । सप्तमीको दिन आफ्नो घरमा भएका हतियारहरूको पूजा गरिन्छ । सो दिन कालरात्रि देवीको पूजा हुन्छ । देख्दै भयंकर स्वरुपकी ती देवीको बाहेक अरु सबैको पूजा दिउँसोमा हुने गर्छ । त्यस्तै, अष्टमीको दिन महागौरी र दसैंको नवमीको दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

दशैंको १० औं दिन अर्थात् विजयादशमीको दिन दशैंको मुख्य दिन हो । नौ दिनसम्मको महिसासुर र देवीबीचको युद्धमा दशमीको दिन महिसासुरलाई दूर्गाले वध गरेको उपलक्ष्यमा विजयको टीका लगाउने गरिन्छ ।

कुल चार प्रकारको दशैंमध्ये असोज महिनामा मनाइने यो दशैंलाई बडा दशैं भन्ने गरिन्छ । यो दिन नै आफूभन्दा ठूलाको हातबाट टीका र जमरा लगाएर आशीर्वाद लिने गरिन्छ ।

शास्त्रीय मान्यता अनुसार टीकाको ५ दिन अर्थात् पूर्णिमासम्म दशैंको टीका लगाउने चलन छ । तर गण्डकी प्रदेशका केही ठाउँमा भने दशैंको दिनमात्रै टीका लगाउने चलन छ ।