निशान खड्का हत्या प्रकरण : हत्यामा संलग्‍न दुईजना पक्राउ पछि गोली हानी ज्यान लिएको निष्कर्ष

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको काँडाघारीमा बस्दै आएका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि भएको हत्यामा संलग्‍न दुईजनालाई प्रहरीले पक्राउ गरेपछि गोली हानी ज्यान लिएको निष्कर्ष निकालेको छ।

राष्ट्रिय मानवअधिकार आयोगको बुधबार बसेको बैठकले काँडाघारी बस्‍ने ११ वर्षीय बालक निशानको अपहरणपछि हत्या गरेको आरोप लागेका सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङलाई २०७५ साउन २१ गते प्रहरीले पक्राउ गरेपछि गोली हानेर गैरन्यायिक हत्या गरेको ठहर गरेको हो। ​

आयोगका सचिव एवम् प्रवक्ता बेद भट्टराईका अनुसार प्रहरीले भक्तपुरको सूर्य विनायक जंगलमा लगी गोली हानी मारेको ठहर गरिएको हो। तर त्यस बेला प्रहरीले अपहरणकारीसँग दोहोरो झडप भएको बताएको थियो।

त्यस घटनालाई लिएर मृतकद्वयका परिवारले दिएको उजुरीका आधारमा गठित विशेषज्ञ सम्मिलित छानविन समितिले पेश गरेको प्रतिवेदनमाथि सुनुवाइ गर्दै आयोगले यस्तो निचोड निकालेको हो।

‘उक्त घटना दोहोरो झडप नभई आरोपित दुवैजनालाई नियन्त्रणमा लिएपछि गोली हानी मारिएको आयोगले ठहर गरेको छ’, भट्टराईले भनेका छन्।
आयोगले उक्त घटनामा ज्यान गुमाएका बालक खड्काका परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि सरकारलाई सिफारिस गरेको छ।

त्यसैगरी प्रहरीको गोलीबाट ज्यान गुमाएका गोपाल र अजय तामाङको परिवारलाई जनही १ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आयोगले सरकारलाई भनेको छ।

यो घटनामा दोषी देखिएका तत्कालीन प्रहरी नायव उपरीक्षक (डिएसपी) रुगमबहादुर कुँवर, प्रहरी नायव निरीक्षकहरू दीपेन्द्र चन्द, प्रशन्‍न मल्ल, रञ्‍जीत लामा र प्रहरी सहायक निरीक्षक राजन खड्कालाई कानुनबमोजिम कारवाहीका लागि सिफारिस गरेको छ।