म्याग्दीमा जथाभावी पहाड उत्खनन

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ दूरबिनडाँडाको पहाडबाट जथाभावी ढुङ्गा उत्खनन भएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन बिनै स्थानीय तहलाई राजस्व नतिरी स्काभेटर प्रयोग गरेर मनपरि ढुङ्गा उत्खनन भएको हो ।

पोखरेबगर–घार–खिवाङ–शिख–चित्रे सडक आयोजनाको ठेकेदार कम्पनी मोतीदान–जयमाता जेभीले पहाडबाट आफूखूशी मनपरि शैलीमा ढुङ्ग उत्खनन गरेको स्थानीयवासीले बताएका छन् । पहाडमा जथाभावी डोजर चलाएर ढुङ्गा निकाल्दा वातावरणीय असरका साथै स्थानीय तहको आम्दानीमा असर परेको बिरौटा टोल सुधार समितिका अध्यक्ष ठाकुरप्रसाद बरुवालले बताउनुभयो । सो ठाउँको ढुङ्गा स्थानीयका घर, सार्वजनिक भवन निर्माणमा पनि प्रयोग हुने गरेको छ ।

“सडक निर्माणका लागि ढुङ्गा र गिट्टी निकाल्ने बाहनामा सहमतिविपरीत पहाड खनेर रित्ताउन खोजिएको छ”, उहाँले भन्नुभयो, “वातावरणीय असरको अध्ययन र राजस्व नतिरी उत्खनन गरिरहेको ठेकेदारले क्रसर राख्न खोजेकोमा हाम्रो आपत्ति छ ।” विसं २०७६ भदौमा वडाध्यक्ष कृष्णप्रसाद बरुवालको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले दूरबिनडाँडामा सडकले ओगट्ने आठ मिटर र चार मिटर भित्रबाट ढुङ्गा निकाल्न दिने सहमति भएको तर ठेकेदारले सहमतिविपरीत जङ्गल मासिने, पहिरो चल्ने गरी धेरैभित्रसम्म गएर पहाडबाट ढुङ्गा निकालेको स्थानीय बहुतबहादुर बरुवालले बताउनुभयो । जथाभावी र अव्यवस्थित उत्खनन रोक्नका लागि टोल सुधार समितिले वडा र गाउँपालिका कार्यालयमा निवेदन दिएका थिए ।

ठेकेदार र स्थानीयवासीसँग छलफल गरेर गत वर्षकै निर्णयअनुसार सडकका लागि आवश्यक ढुङ्गा र गिट्टी निकाल्न दिने गरी सहमति कायम गरेको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताउनुभयो । “जति बढी निकाल्यो, निकाल्यो, त्यसलाई छोडिदियाँै, सहमतिविपरीत अब निकाल्न पाउँदैन”, उहाँले भन्नुभयो, “थप मेटिरियल बाटोमुनिको ढाडबाट पनि निकाल्न दिने गरी सहमति भएको छ ।” ठेकेदार कम्पनीका प्रतिनिधि गौतमप्रसाद भुसालले डिजाइन, इस्टिमेटअनुसार स्थानीयवासीसँग सहमति गरेर ढुङ्गा निकालेको बताउनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावितअन्तर्गत पोखरेबगरदेखि घार, खिवाङ, शिख हुँदै चित्रे जोड्ने १८.५ किलोमिटर सडक कालोपत्रे गर्न २०७५ मङ्सिर ९ गते रु २७ करोड ९१ लाख ३५ हजार २२० मा ठेक्का सम्झौता गरेको थियो ।

विसं २०७७ जेठ २२ सम्म सम्पन्न गर्ने सम्झौता भएको आयोजनाको हालसम्म ३८ प्रतिशत मात्र भौतिक प्रगति गरेको छ । कोरोनाको जोखिम, लकडाउन र पहिरोको बाहनामा गत चैतदेखि काम रोकेको ठेकेदारले पर्याप्त मजदूर र उपकरण परिचालन गर्न नसक्दा सडक अलपत्र भएको स्थानीयको भनाइ छ ।

हाल कच्ची, साँघुरो र ग्रेड नमिलेको अवस्थामा रहेको सडकलाई फराकिलो बनाएर ग्राभेल, ढलान, ग्याबियन पर्खाल, मेशिनरी पर्खाल, ह्युम पाइप, कल्भर्ट, सोलिङ र ३.७५ किलोमिटर कालोपत्रेसमेत गर्ने उद्देश्यले आयोजना सञ्चालन भएको हो । कोरोना भित्रने कारण देखाएर जनप्रतिनिधिले बाहिरबाट मजदूर ल्याउन नदिएको, आयोजनाले पहिरोका कारण सिर्जित अतिरिक्त कामको मूल्याङ्कन र भुक्तानीमा ढिलाइ गरेकाले काम प्रभावित भएको निर्माण कम्पनीका प्रतिनिधि भुसालको भनाइ छ ।

उहाँले दूरबिनडाँडाबाट कच्चा पदार्थ उत्खनन गरी अस्थायी क्रसर उद्योग चलाउन लागेको प्रतिक्रिया दिनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख नारायण ढकालले ठेकेदारलाई काममा फर्काउन र निर्माण सामग्रीको विषयमा देखिएको विवाद समाधानका लागि सहजीकरण गरेको बताउनुभयो । “क्रोनिक अवस्थामा पुगेको आयोजनालाई निरन्तरता दिन ठेकेदारलाई काममा फर्किने वातावरण बनाएका छौँ”, उहाँले भन्नुभयो, “ठेक्काको म्याद थप प्रक्रियामा लगेका छाँै ।” रासस