अण्डा दिवस, पोल्ट्री क्षेत्रमा अनुदानले मात्रै व्यवसाय माथि उठ्दैन : अध्यक्ष केसी

चितवन : आज २५ औं विश्व अण्डा दिवस । विश्वभर कुखुरापालन व्यवसायको विकासभएसगै विश्वभरका पोल्ट्री व्यवसायीहरुको सन १९९६ मा इन्टरनेशनल एग कमिशन स्थापना भएको र हरेक अक्टुवर महिनाको दोश्रो शुक्रवार विश्व अण्डा दिवस मनाउने परम्परा अनुसार २०७७ असोज २३ गते शुक्रबार २५ औं विश्व अण्डा दिवस आज परेको छ ।

मानव स्वास्थका लागि आवश्यक पर्ने, प्रशस्त मात्रामा प्रोटिन पाइने र कुनै पनि प्रकारको मिसावट गर्न नसकिने प्रोटिन र खनिज तत्वले भरीपूर्ण सवै भन्दा सस्तो मूल्यमा पाइने वस्तु नै अण्डा हो ।

हाल नेपालमा अण्डा उत्पादन दैनिक ३० लाख गोटा, ब्रोइलर चल्ला प्रति हप्ता ३५ लाख गोटा, लेयर्स चल्ला प्रति हप्ता २ लाख गोटा, मासु दैनिक ७ लाख के.जी र दाना दैनिक २८ सय मे. टन रहेको छ । यसै विषयमा केन्द्रित भइ संघका केन्द्रिय अध्यक्ष शिवराम केसीसंग गरिएको कुराकानी :

अण्डाप्रति मानिसको रुची कस्तो छ ?

अण्डा अहिले हरेक जस्तो खानामा समावेश छ । अपरिहार्य जस्तै छ गाउँ घर सहर बजार हरेकका भान्छामा अण्डाको खपत दिनप्रतिदिन वढ्दो छ ।

अण्डा किन खाने ?

हामीले भन्नुभन्दा पनि विज्ञानले भनेको के हो भने अण्डामा सम्पूर्ण प्रोटिनको स्रोत भएको खाद्यपदार्थ हो । भिटामिन मिनरल शरिरलाई चाहिने आवश्यक पोष्टिक तत्व अण्डामा पाइन्छ भन्ने विज्ञानले प्रमाणीत गरेको कुरा हो ।

अण्डामा देश आत्मनिर्भर छ ?

खासमा आत्मनिर्भरलाई कसरी वुझ्नपर्छ भने त्यो देशको जनताको फुड ह्याविटमा भर पर्छ । सुरुमा नेपालमा मानिस विरामी हुँदा मात्रै अण्डा खानुपर्छ भन्ने वुझाइ थियो । ठाउँ ठाउँमा अण्डा पनि पाइन्नथ्यो । लोकल कुखुराले पारेको कुनै कुनै ठाउँमा पाइन्थ्यो पहिला । विस्तारै व्यवसायीक उत्पादन सुरु भयो । सवैले खान थाले । बजार वढ्यो । मानिसहरुको पहुँच वढ्यो । त्यसैले अहिलेको हिसावमा विदेशबाट आयात गर्नुपरेको छैन । जति माग छ त्यति सप्लाई पुगेकै छ । अझ पोष्टीक तत्वको बारेमा उपभोक्ताहरुलाई थप जानकारी गराउन सके यसको खपत बढ्ने देखिन्छ ।

अण्डा उत्पादनको उर्वर भूमि कहाँ कहाँ हो नेपालमा ?

विशेष गरेर पूर्व मेचिदेखि पश्चिम महाकालि सम्म दक्षिण तर्फको भागमा नै व्यवसायिक रुपमा अण्डा उत्पादन हुन्छ । व्यसायिक उत्पादन गरेर वाहिर जिल्लामा निर्यात गरिन्छ । पहाडी जिल्लामाहरुमा पनि उत्पादन सुरु हुन थालेको छ । चितवन त राजधानी नै हो अण्डाको । त्यसपछि नवलपरासी, दाङ, वर्दिया, कास्की, सुर्खेत, काठमाण्डौ, भक्तपुर, ललितपुर,काभे्र, झापा, मोरङ सुनसरी हव वन्दै गएको छ । मकवानपुर पनि अग्रणीमै छ । उत्पादन त धेरै ठाउँमा हुन्छ तर व्यवसायी रुपमा ठूलो उत्पादन हुने ठाउँहरु यिनै हुन् ।

तथ्याङ्कमा हेर्दा जिडिपीमा कति प्रतिशत यसले टेवा पुर्याएको छ ?

हामी अण्डाको लागत निकाल्न छलफल गरेका थियौँ । अण्डा मात्रै सेक्टरबाट १ प्रतिशत जिडिपीमा यसले सहयोग पुर्याएको छ । पोल्ट्री क्षेत्रबाट ४ प्रतिशत छ ।

लकडाउनले कत्तिको असर गर्यो ?

सवै व्यवसायमा यसले असर गर्यो । हाम्रोमा चैत्रको ११ देखि ३/४ हप्ताजति समस्या भयो । दाना पुर्याउन कठीन भयो । उत्पादन भएका उत्पादीत वस्तु पुर्याउन समस्या भयो । वढि समस्या त्यही समय भयो । त्यो समय कुखुरालाई आहार पुर्याउन नसकेपछि पाल्न सकिन्न की भन्ने सम्म किसान पुग्नुभयो । ६ महिना नभएसम्म कुखुराले अण्डा दिँदैन ।

८ देखि ९ महिना त्यही समय कुखुरा धेरै विक्रि भयो । मानिसहरु धेरै भएपनि माग धेरै भयो । मुल्य चाहिँ पाएन तर खपत अत्यधिक भयो । २ महिना चाहिँ मुल्यलाई भन्दा विक्रिलाई हामीले ध्यान दियौँ । अहिले झन् यस रोगसँग लड्न भिटामिन डि चाहिने भएकाले पनि अण्डाको माग वढेको छ । प्राय तरकारीसँग मिलाउन सकिने, छिटो छरितो बनाउन सकिने भएकाले पनि यसको प्रयोग र माग दुवै वढ्दो छ । खपत राम्रो छ । यो समय सस्तो मुल्यमा यति धेरै प्रोटिन पाइने अन्य खाद्यवस्तु वजारमै छैन ।

एउटा अण्डा उत्पादन गर्दा कति लागत लाग्छ ? किसानले आफ्नो लागत पाएका छन् त ?

लागत उत्पादन खर्च समय अनुसार परिवर्तन भइरहन्छ । दाना महङ्गो हुँदा अलि धेरै महङ्गो पर्छ । नेपाल सरकारको कृषि तथा पशुपंक्षि विकास मन्त्रालयमा किसानको लागत मुल्य चाहियो भनेर अण्डा उत्पादक संघले पहल गरेर लागत मूल्य निकाल्दा प्रति अण्डा ११ रुपैया ५३ पैसा तय भयो । अहिलेको अवस्थामा किसानले लागत मुल्यको नजिक नजिक पाइरहेको छ । हिजोको दिनमा लागत भन्दा ५० प्रतिशत तल सम्ममा पनि आफ्नो उत्पादन विक्रि गर्नुपरेको थियो । अहिले सुधार भएको छ ।

सरकारी अनुदान पाउनु भएको छ की छैन ?

पोल्ट्रीमा अनुदान खासै छैन । पशुपंक्षि भन्नासाथ मन्त्रालय अन्तगर्त त पर्छ । गाई भैँसीको गोठ सुधार के के नाउँमा अनुदान आएको पाइन्छ । दुध उत्पादनमा प्रति लिटर अनुदान दिएको समाचार पनि सुनिरहेका छौँ तर यो अण्डामा न स्थानीय प्रदेश केन्द्र कुनै पनि सरकारले अनुदान दिएका छैनन । एकाध ठाउँमा सुदुरपश्चिम तिर एक दुई हजार कुखुरा पाल्ने किसानलाई ४०/५० हजार दिएको समाचार सुन्छु तर संघीय मन्त्रालयले कुनै पनि अनुदान दिएको छैन ।

हाल नेपालमा अण्डा उत्पादन दैनिक ३० लाख गोटा, ब्रोइलर चल्ला प्रति हप्ता ३५ लाख गोटा, लेयर्स चल्ला प्रति हप्ता २ लाख गोटा, मासु दैनिक ७ लाख के.जी र दाना दैनिक २८ सय मे. टन रहेको छ ।

तर हामी अनुदान आवश्यक ठान्दैनौँ । तर हामीलाई के हुनुपर्यो भने नीति नियम सरकारले राम्रो बनाइदिनु पर्यो । लागत मुल्य उठ्ने बातावरण वन्न पर्यो । अनुदानले मात्रै हाम्रो व्यवसाय माथि उठ्दैन । अनुदान लिएर व्यवसाय गर्यो तर उत्पादीत वस्तुले मुल्य पाएन भने त्यही अनुदानको व्याज तिर्न ऋण लिनुपर्ने हुन सक्छ त्यसैले अनुदान भन्दा पनि यो पेशाबाट किसान बाँच्नका लागि के के पूर्वाधारहरु गर्नुपर्ने हो ? अथवा देशलाई वास्तविक आवश्यक अण्डा कति हो ? र त्यही आधारमा किसानले उत्पादन गर्दथे र घाटा खानु पर्दैनथ्यो । त्यसरी उत्पादन भएपछि बजारमा जान सक्ने मात्रै व्यवस्था गर्न सकियो भने पनि हामी किसानहरुले सधैँ डर त्रासमा अण्डा उत्पादन गर्नुपर्ने अवस्थाबाट मुक्त हुन सक्थ्यौँ ।

दिवसमा केही विशेष कार्यक्रम छन् की ?

विगतका वर्षहरुमा त हामीले पशुपंक्षि डाक्टर तथा अण्डा विशेषज्ञहरुसँग वहस छलफल गरी मनाउँथ्यौँ । तर यस पटक कोभिडका कारण अवस्था सहज नभएपछि खासै विशेष केही छैन ।
तर कार्यक्रम नगरेपनि मिडियाहरुले उपभोक्ताहरुलाई अण्डाको महत्व र यसको प्रयोगबाट हुने फाइदा तथा किसानको समस्या उजागर गर्ने मौका दिनुभयो धन्यवाद । सवैलाई विश्व अण्डा दिवसको शुभकामना ।