दशैँको किनमेलले ठेलमठेल हुने बजार–पसल सुनसान

काठमाडौ : अघिल्ला वर्षहरूमा दशैँ नजिकिँदै गर्दा बजारमा उपभोक्ताको ठेलमठेल हुन्थ्यो। कतिपय पसलमा घन्टौं कुर्दा पनि पालो नपाएपछि मानिसहरू सामानै किन्न नसकेर खाली हात घर फर्कन्थे। तर यो पटक पसलेहरू ग्राहक कुरेर बसिरहेका छन्‌।

चाडबाडका बेला ग्राहकले खचाखच भरिने पसलहरू यसपाली सुनसान देखिन्छन्‌।

कोरोना महामारी नियन्त्रण गर्न भन्दै लामो समयसम्म लगाइएको लकडाउन र निषेधाज्ञाका कारण मानिसहरूले रोजगारी गुमाएका छन्‌।

संक्रमण झनै फैलिएकाले पनि किनमेल गर्न चाहेकाहरू पनि घर बाहिर निस्किएका छैनन्‌ ।

खुट्टा राख्ने ठाउँसम्म नहुने असन र इन्द्रचोकका पसलमा सञ्‍चालकहरू ग्राहक आउने आशामा दिनभर पसल रुँगेर बसिरहेका छन्‌। तर, सडकमा हिँडेका फाट्टफुट्ट यात्रुहरू पनि पसलतिर हेर्दै नहेरी आफ्नो गन्तव्यतर्फ लागिरहेको देख्न सकिन्छ।