बाघले किन मान्छे मार्छ ?

वेदबहादुर खड्का : संसारमा पाँच प्रजातिका बाघ १३ मुलुकमा मात्र पाइन्छन् । नेपाल, भारत, भुटान र बंगालादेशमा मात्र पाइने बाघलाई पाटेबाघ भनिन्छ । कुनै समयमा नेपालको तराईका जंगल, भित्री मधेस, चुरे र भाहाभारतको काखमा प्रशस्त पाइने पाटेबाघ वनजंगल अतिक्रमित भएर वासस्थान खुम्चिन गई हाल आएर चितवन, बर्दिया, शुक्लाफाँटा, पर्सा र बाँके राष्ट्रिय निकुञ्ज र वरपरका वन क्षेत्रमा मात्र सीमित हुन पुगेको छ । हाल नेपालभरि २३५ र चितवन राष्ट्रिय निकुञ्जमा मात्र ९३ वटा वयस्क पाटेबाघ रहेका छन् । चितवन उपत्यकामा ८० वर्ष पहिले जुद्ध शमशेरको निमन्त्रणामा आएका ब्रिटिस राजाले १२० वटा बाघको सिकार गरेका थिए । एकपटकको सिकारमा मात्रै यति ठूलो संख्यामा बाघ मारियो भने त्यो समयमा तराईमा बाघको संख्या कति थियो भन्ने कुरा सहज अनुमान लगाउन गाह्रै हुन्छ ।

बाघको प्रजनन प्रक्रिया

पोथी बाघ ३–४ र भाले बाघ ४–५ वर्षको उमेरमा प्रजननयोग्य हुन्छन् । भालेले सम्भोगबाहेक बच्चा हुर्काउनमा सहयोग गर्दैन । एउटा भाले बाघसँग बघिनी ३–४ वटासम्म हुन सक्छ । यसको गर्भधारण अवधि ९५ देखि १०५ दिनसम्म हुन्छ । बघिनीले गुफा, ओडार, पत्थरिलो खोँच र घना झाडीमा एकपटकमा सामान्यतया १–४ वटासम्म डमरु जन्माउँछे । जन्मँदा डमरुहरूले आँखा नदेख्ने हुन्छन् । डमरुहरू ६ महिनाको उमेरपछि आमासँगसँगै सिकार गर्न जाने गर्दछन् । ३–४ वर्षको उमेरसम्म आमासँगै रहने डमरुहरूले यस अवधिमा सिकार गर्नदेखि लिएर जिउन आवश्यक पर्ने सबै कुरा आमाबाटै सिक्छन् । यो समयमा आमाले कहिल्यै पनि मानिसको समीपमा लैजाने र मानिसलाई मार्न सिकाउँदिन ।

भाले–भाले किन झगडा गर्छन् ?

बाघलाई जंगलको राजा भनिन्छ । भाले–पोथी लाग्ने समयमा करिब एक हप्ताजति सँगै बस्छन् र त्यसबाहेक अन्य समयमा बाघ एक्लाएक्लै बस्छन् । बाघले आफू बस्ने क्षेत्रमा अर्को बाघ नआओस् भनेर आफ्नो क्षेत्रको पहरा दिइरहेको हुन्छ । आफ्नो इलाकाको जनाउ दिन कतै रूखमा त कतै भुइँमा नंग्र्र्राले कोतरेर वा कतै पिसाब फेरेर संकेत गरी आफ्नो उपस्थिति देखाउँछ । यस्तो संकेतले एकातिर भाले–पोथीको समागमको समयमा सजिलै पोथीले भाले भेट्ने हुन्छ भने अर्कोतिर भाले–भालेहरूबीच शक्ति प्रर्दशनको एउटा शैली के पनि हो भने उसले जति रूखको माथिसम्म कोतरेर आफ्नो इलाकाको संकेत गर्न सक्यो त्यति नै बलियो भन्ने बुझिन्छ । बाघले आफ्नो क्षेत्र निर्धारण यति नै गर्छ भन्ने छैन, तर उसको क्षेत्र आहार प्रजातिको प्रचुरतामा भर पर्दछ । आफ्नो इलाका सुरक्षित राख्न भाले बाघले एकै रातमा ६० देखि ७० वर्ग किमिसम्म घुम्ने गरेको पाइएको छ । पोथी–पोथीको पनि छुट्टाछुट्टै इलाका हुन्छ, तर भालेको भन्दा सानो हुन्छ । पोथीको इलाका भालेको इलाका सँग ओभरल्याप भएको हुन्छ । भाले बाघको छुट्टाछुट्टै इलाका भएको अवस्थामा अर्को भाले सो क्षेत्रमा प्रवेश ग¥यो भने भाले–भाले जुधी घाइते हुन्छन् र कहिलेकाहीँ एकआपसमा जुधेर मरेका उदाहरण पनि भेटिएका छन् ।

बाघले किन घरपालुवा पशुचौपाया र मान्छे खान्छ ?

अहिले बाघले मानिस एवं घरपालुवा पशुचौपायालाई हमला गर्ने भनेको बाघको वासस्थान साँघुरिँदै गएर हो । प्रायः बूढो अशक्त, माउसँग छुटेको अर्धवयस्क वा भाले–भाले जुधेर घाइते हरुवा बाघले इलाका छोड्न पुग्छ । यस्तो अवस्थाको बाघलाई प्राकृतिक आहारा चित्तल, जरायो, बँदेलजस्ता वन्यजन्तु लखेटेर सिकार गर्न नसक्दा, भोकै हुँदा सजिलो आहाराको खोजीमा भौँतारिँदै घरपालुवा पशुचौपाया र मानिससमेत खान पल्किन्छ । तर, कहिलेकाहीँ बाघले सिकार मारेको अवस्थामा एक्कासि त्यस ठाउँमा मानिस पुग्न गएको खण्डमा सिकार खोस्न आएको सम्झी मानिस मार्न पुग्छ, तर बाघको यो बाध्यता हो । भाले–भाले जुधेर इलाका छोडेर भागेको हरुवा बाघले आफ्नो इलाका बनाउने क्रममा बस्तीछेउछाउको वन–जंगल, उखुबारी, केराघारी वा आँप बगैँचामा पुगी अस्थायी वासस्थानको रूपमा प्रयोग गर्ने गरेको कारणबाट सजिलो सिकार घरपालुवा पशुचौपाया र मानिससमेत खान पुगेको उदाहरण भेटिएका छन् । एउटा भाले बाघ अर्को भाले बाघको क्षेत्रमा प्रवेश नै नगरी यस्ता खाले वासस्थान प्रयोग गर्ने गरेको पनि भेटिएको छ । मान्छे खाने बाघलाई नरभक्षी भनिन्छ ।

नरभक्षी बाघलाई के कसरी नियन्त्रणमा लिइन्छ ?

बाघको नाम सुन्नेबित्तिकै आङ सिरिंग हुनेहरूका लागि बाघलाई कसरी नियन्त्रणमा लिइन्छ भन्ने विषयमा उत्सुकता जाग्न सक्छ । बन्दुकमा औषधिको सिरिन्ज जडान गरिएको हुन्छ, त्यसैबाट सुरक्षित स्थानमा जस्तै ः रूख, हात्ती वा यस्तै छेल पारेर बसी बाघको शरीरमा ताकेर हानेपछि बाघको शरीरमा सिरिन्ज गढी शरीरमा औषधि प्रवेश गर्दछ र सिरिन्ज गढेको ५–१० मिनेटभित्रमा बाघ बेहोस हुन्छ ।

मानिस खान पल्केर नियन्त्रणमा लिएका नरभक्षी बाघलाई जीवनभर या त असहाय केन्द्रमा राखिन्छ, या त चिडियाखाना पठाइन्छ । किनभने, घाइते भई मानिस खान पल्केका बाघ पुनः मान्छे नै खोजी हिँड्ने अध्ययनले देखाएको छ, किनभने मान्छे मार्न सजिलो हुन्छ । त्यसैले यस्ता बाघलाई प्राकृतिक वासस्थानमा छाडिँदैन । केवल घरपालुवा जनावर मात्र मारेर खाएको छ भने सो बाघलाई नियन्त्रणमा लिई उपचारपश्चात् स्वस्थ भएपछि उसको गतिविधिको अध्ययन गरेर मात्र प्राकृतिक वासस्थानमा लगेर छोडिने परम्परा रहेको छ । यसरी छोडिएका बाघहरू सजिलैसँग प्राकृतिक वासस्थानमा पहिलाझैँ आफ्ना प्राकृतिक आहाराको सिकार गर्न सक्षम भएका पनि छन् । यदि स्वस्थ बाघ जंगलमा देखियो भने आत्तिनु पर्दैन, उसले मान्छेलाई केही पनि गर्दैन, ऊ आफैँ तर्किएर लुसुक्क झाडीतिर लाग्छ भने अस्वस्थ बाघ देखियो भने मान्छेलाई आक्रमण गर्न गौँडो ढुकेर बस्छ । स्वस्थ बाघ देख्दैमा हृष्टपुष्ट, मोटोघाटो र आकर्षक हुन्छ भने अस्वस्थ बाघ दुब्लो, पछाडिको भाग सुकेको, ख्याउटे र शरीरको रङ उडेको जस्तो फिका हुन्छ र यस्ता बाघ देखिएमा सतर्कता अपनाउनुपर्ने हुन्छ ।

अक्सिजन दिएर घाइते बाघको उपचार

अस्पतालमा मानिसलाई अक्सिजन दिएर उपचार गरेजस्तै बाघलाई पनि त्यसरी नै अक्सिजन दिएर उपचार गरिन्छ भन्दा जोकोहीलाई पत्यार नलाग्न सक्छ । तर, तस्बिरमा देखाइएको जस्तै गरी चितवन राष्ट्रिय निकुञ्जमा बाघलाई लठ्याई बेहोस पारी उपचार गर्ने गरिन्छ । बाघलाई नियन्त्रण लिने क्रममा डार्ट गरी बेहास बनाइन्छ, सो समयमा यदि श्वास–प्रश्वासमा समस्या देखियो भने अक्सिजन दिई थप उपचार गरिन्छ र उपचार सकिएपछि सुई दिई होसमा ल्याइन्छ ।

बाघले आक्रमण गर्ने तरिका

साधारतया बाघले निम्न अवस्थामा आक्रमण गर्छन् :

– जंगलमा हामीले बाघलाई देखेको अवस्थामा होस् वा हामीले बाघलाई नदेखेको तर बाघले हामीलाई देखेको अवस्थामा भने उसले चेतावनीस्वरूप घुरेर संकेत गर्दछ र हामी तुुरुन्त त्यस ठाउँबाट पछाडि हटी सुरक्षित हुनुपर्दछ । यदि उसको चेतवनीलाई बेवास्ता गरी बाघ भएतिर अगाडि बढ्यौँ भने बाघले पक्का आक्रमण गर्छ ।

– आक्रमण गर्नुभन्दा अगाडि बाघ लुपुक्क भुइँमा कुकुर बसाइको पाराले बस्छ र पुच्छर ठाडो पारी पुच्छर दायाँ–बायाँ हल्लाउँदै गर्जनका साथ आक्रमण गर्छ ।

– यदि भर्खरै बाघले सिकार मारेर रगत चुस्दै गरेको अवस्थामा जो कोही नजिक पुगेमा अक्रमण गर्छ ।

– बाघका बच्चालाई डमरु भनिन्छ । यदि डमरु माउको साथमा भएमा आक्रमण गर्छ ।

– कहिलेकाहीँ झुक्किएर जनावरजस्तो लागेर पनि बाघले मानिसलाई आक्रमण गर्छ ।

समस्या र समाधान 

पानीमुनि गएर बस्दा माछासमेतका जलचरहरूले पनि आक्रमण गर्छ भन्ने कुराको हेक्का पु¥याउनु पर्दछ भने निकुञ्जवरपर गाउँबस्तीनजिक मध्यवर्ती सामुदायिक वनमा निकुञ्जमा पाइने बाघ, गैँडादेखि लिएर अन्य सबैखाले वन्यजन्तु पाइने ठाउँका स्थानीय बासिन्दाले तिनबाट जोगिनुपर्छ भन्ने कुराको पनि ख्याल राख्नु त्यतिकै जरुरी छ । बाघले गाउँबस्तीमा गएर मान्छे मारेको घटना त्यति नभेटिएला, सावधानी नअपनाउँदा वन्यजन्तुबाट मानिसलाई खतरा हुन्छ भन्ने कुरा थाहा हुँदाहुँदै पनि सो कुरालाई परवाह नगरी एक्लै–दुक्लै वनजंगलमा प्रवेश गरी निउरो टिप्ने, घाँस–दाउरा गर्ने, घरपालुवा चौपायाको गोठालो गर्ने र तालघोल, खोलानाला, नदीमा माछा मार्ने कार्यले बाघ आकर्षित भई अनाहकमा मानिसले ज्यान गुमाउनुपरेको छ । बाघले पशुचौपाया मार्ने बानी पर्नाले बाघको संरक्षणमा दिगोपन नआउने र यसले सधैँ संरक्षणमा अन्तरद्वन्द्व निम्त्याइरहने खतरा देखिन्छ ।

बाघको आक्रमणबाट बच्ने उपाय

– बाघ भएको क्षेत्रमा भ्रमण गर्दा सतर्क भएर गर्ने ।

– बाघ गर्जेको वा घुरेको सुनेमा वा यस्तै संकेत पाएमा वा बाघ हिँडेको नयाँ पाइला देखेमा वा बाघको गन्ध थाहा पाएमा सतर्क हुने वा बाघ भएको दिशातिर नजाने ।

– बाघलाई देखेमा हल्ला नगर्ने ।

– अन्धाधुन्ध पाराले बाघ बस्ने झाडीतिर नडुल्ने ।

– बाघ भएको स्थानतिर अन्य वन्यजन्तुले पनि त्यस क्षेत्रमा बाघ छ भन्ने कुराको संकेतका आवाज दिन्छन्, तिनलाई पनि ख्याल गर्ने ।

हालसम्म निकुञ्जले गरेको आम्दानीको ५० प्रतिशतले हुन आउने एक अर्बभन्दा बढी रकम यहीँको निकुञ्जबाट प्रभावित क्षेत्र मध्यवर्तीमा बसोवास गर्ने समुदायको विकास र संरक्षण कार्यमा गइसकेको अवस्था छ । उक्त रकमको करिब ९० प्रतिशत हिस्सा पर्यटक आम्दानीबाट रहेको छ । सरकार र सहयोगी संघसंस्थाबाट पनि वन्यजन्तु र यिनका बासस्थान बचाइराख्न ठूलै लगानी भएको छ, तर लगानीअनुसारको प्रतिफल लिन नसकेको हो कि भन्ने गुनासो आउन थालिसकेको छ ।

निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वनहरूमा स्थानीय समुदायले परम्परादेखि प्रयोग गर्दै आएको कन्दमुल, साग सिस्नु, टिप्न पाउनुपर्छ, माछा मार्न पाउनुपर्छ भन्ने अधिकारका कुरा तेस्र्याउने र उकास्नेहरूको कारणले गर्दा उक्त क्षेत्रमा लापरबाही तरिकाले प्रवेश गर्दा वन्यजन्तुको आक्रमणबाट अनाहकमा स्थानीयको मृत्यु भएका घटनामा वृद्धि भएको छ भन्न कुनै हिचकिचाउनु पर्दैन होला । किनभने, बाघले मानिस नै ताकेर खाने भए दिन–रात संरक्षणमा खटिने कर्मचारीलाई बाघले पहिला मार्छ अनि मात्र स्थानीयलाई । घनघोर जंगलभित्र निकुञ्जका ५० भन्दा बढी पोस्ट रहेका छन् । ती पोस्टमा तारघेराबार केही पनि छैन, तर वन्यजन्तुबाट के कसरी बच्नुपर्छ भन्ने अनुशासनका तौरतरिका नै गुरुमन्त्र रहेकाले वन्यजन्तुको आक्रमणबाट हुने घटना निकुञ्जका कर्मचारी वृत्तमा न्यून छ ।

त्यसैले यसको दिगो संरक्षणका लागि निकुञ्ज, मध्यवर्ती सामुदायिक वनहरूमा एक्लै–दुक्लै मानिस प्रवेशमा कडाइ गर्नुपर्ने, चौपाया चरिचरनलाई तथा विकासे जर्सी गाईका बाच्छाहरू मध्यवर्ती सामुदायिक वनमा छोड्ने प्रचलनमा नियन्त्रण गर्नुपर्ने, निकुञ्जभित्र र यसको सिमानाबाहिर रहेका संवेदनशील ऐलानी बस्तीलाई स्थानान्तरण गर्नुका साथै निकुञ्जभित्र घाँसेमैदान एवं तालतलैयालगायत सिमसार क्षेत्रहरूको वैज्ञानिक तवरले उचित व्यवस्थापन गर्नुपर्ने टड्कारो रूपमा देखिन्छ, जसले गर्दा मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्नमा सहयोग पुग्ने देखिन्छ । त्यसैगरी, कतिपय अवस्थामा पशुचौपाया मात्र खाएको कारणले नियन्त्रणमा लिएका बाघलाई तिनीहरूको स्वस्थ अवस्था हेरी विज्ञ समूहको निष्कर्षबाट प्राकृतिक वासस्थानमा पुनस्र्थापना गर्ने र नमिल्नेलाई अन्तर्राष्ट्रियस्तरका पुनस्र्थापना केन्द्र स्थापना गरी हुर्काउन र त्यहाँ पर्यापर्यटनको प्रवद्र्धन गर्ने व्यवस्था हुन जरुरी छ ।

उहिले–उहिले प्रकृतिमाथि मानिसका धेरै समस्या थिए, तर आज आएर मानिस नै प्रकृतिलाई समस्या भइरहेको छ । त्यसैले स्वस्थ पर्यावरणका लागि विश्वमा छरिएर रहेका मानवले जहाँ जे जस्तो प्राकृतिक सम्पदा छ, त्यसलाई बचाउनु उनीहरूको कर्तव्य हुन आउँछ । किनभने, यदि यी सम्पदा नबचाईकन मानिस एक्लै यस पृथ्वीमा बाँच्ने भइदिएको भए उहिल्यै प्राकृतिक सम्पदा सकिसकेको हुन्थ्यो र प्रकृति बचाउनुपर्ने जरुरी पनि पर्दैनथ्यो होला । कुनै जमानामा पूर्वी तराईका चुरे वनजंगलमा प्रशस्त पाइने बाघ चुरे विनाशसँगसँगै बाघ विनाश भयो, जसको फलस्वरूप बाढी, पहिरो, भूक्षयले त्यस क्षेत्रलाई अक्रान्त बनाएको छ । जमिनमुनिको पानीको सतह गहिरिएर गएको छ, तर त्यही चुरे हो, चितवनवासीका लागि खुसीको कुरो छ, किनभने चुरे राम्रोसँग संरक्षण भएको छ र यहाँ बाघ छ । त्यसैले यस धर्तीलाई स्वच्छ हराभरा बनाइराख्न तराईमा बस्नेले बाघ, मध्यपहाडमा बस्नेले चितुवा र हिमालमा बस्नेले हिउँचितुवा बचाउनु हाम्रो दायित्वभित्र पर्दछ । अनि मात्र ‘स्वच्छ पर्यावरण स्वस्थ नेपाल’ भन्न सुहाउँछ । हाम्रा अग्रजले खोलानाला, नदीको पानी विनापैसा पिएका थिए भने प्रदूषणले गर्दा आज हामी मिनरल बोतलका पानी किनेर पिउनु परिरहेको छ । अझै पनि पर्यावरण बचाउन चुक्यौँ भने भोलिका दिनमा गएर अक्सिजन घाँटीमा झुन्ड्याएर हिँड्नुपर्ने दिन नआउला भन्न सकिँदैन । त्यसैले बाघ स्वस्थ पर्यावरणको सूचक हो, यसको संरक्षणमा हातेमालो गरौँ ।

(सहायक संरक्षण अधिकृत, चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसरा)