सिर्जनशील अपाङ्ग समाजमा फणिन्द्रप्रसादको नेतृत्व सर्वसम्मत

हेमजा : पोखरा–३, कोपिलढुङगास्थित सिर्जनशील अपाङ्ग समाजको शनिवार सम्पन्न २१ औं साधारणसभा तथा ८ औं अधिवेशनले फणिन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा शंकरप्रसाद बास्तोला, उपाध्यक्षमा चन्द्रमाया बास्तोला, महासचिवमा नवराज अधिकारी, सचिवमा रोमा पौडेल बानियाँ तथा कोषाध्यक्षमा पार्वती वाग्ले मल्ल चयन भए । त्यस्तै चुडामणि तिवारी, लोकनाथ भट्टराई, तारा बास्तोला, हर्कबहादुर खत्री र सविता पौडेल सदस्यमा छनोट भए । दुई सदस्य पछि मनोनित गरिने जनाइएको छ ।

कार्यक्रममा भनाई राख्दै प्रमुख अतिथि वडा सदस्य लक्ष्मी पराजुलीले समाजलाई सक्दो सहयोग गर्न स्थानीय सरकार तयार रहेको स्पष्ट पार्दै अव बन्ने भौतिक संरचनालाई पनि अपाङमैत्री बनाउन पहल गर्ने बताइन् । समाजका संस्थापक अध्यक्ष एवम् संरक्षक जगन्नाथ सुवेदीले संस्थागत हितका लागि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने उल्लेख गरे ।

सो अवसरमा महासचिव नवराज अधिकारीद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रोमा पौडेल बानियाँले प्रस्तुत गरेको वार्षिक आय–व्यय विवरण सर्वसम्मत पारित भएको थियो । कार्यक्रम समाजका अध्यक्ष विष्णु सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यता अधिवेशनपछि समाजले कास्की र तनहुँका कुल ७० अति विपन्न अपाङलाई राहात वितरण गरेको छ । बालहितकारी परियोजनाका अध्यक्ष गोविन्दराज पहारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका बीच चामल, दाल, तेल, सावुन, चाउचाउ, चना, मसला, वेसार लगायत गरी जनही रु. ३ हजार बराबरका खाध्यान्न सामग्री राहात स्वरुप वितरण गरिएको हो । त्यस्तै तीन जना अपाङ्गलाई ह्वील चियर तथा अन्य अपाङ्गलाई सहायक सामग्री पनि प्रदान गरिएको छ ।

नवगठित समाजका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न राहात वितरण कार्यक्रम महासचिव नवराज अधिकारीले संचालन गरेका थिए ।