नियमावलीको विरोधमा शान्तिपूर्ण प्रर्दशन उत्रिए चितवनमा कार्यरत गैर सरकारी चिकित्सक

 

चितवन : चितवनमा कार्यरत गैर सरकारी चिकित्सकहरुले शान्तिपूर्ण विरोध प्रर्दशनमा उत्रिएका छन् । चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी)मा खुला तर्फको कोटा बढाउनु पर्ने लगायतका ५ बुँदे माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।

चितवनको भरतपुर अस्पतालको परिसरमा आज भेला हुदै चिकित्सा शिक्षा आयोगले लिन लागेको परीक्षामा कोटा छुट्याउने क्रममा अन्याय भएको भन्दै उनीहरु त्यसलाई संशोधन गर्नुपर्ने माग सहित अस्पताल परिसरमा रहेको नेपाल चिकित्सक संघ चितवनको कार्यालय अगाडी शान्तीपूर्ण प्रर्दशन गरेका हुन् । साथै उनीहरुले विभेदकारी चिकित्सा शिक्षा नियमावली नचाँहिने समेत बताएका छन् ।

उनीहरुले आरक्षण कोटा खारेज गर, गैर सरकारी चिकित्सकलाई माथीको विभेद खारेज लागयतका प्लेट कार्ड समेत बोकेर शान्तिपूर्ण विरोधमा उत्रिएका थिए ।
काठमाडौँमा जारी आन्दोलनको समर्थन गर्दैै चितवनमा समेत आफुहरुले ५ बुदेँ माग राख्दै विरोधका कार्यक्रमसहित आन्दोलनमा उत्रिएको स्वतन्त्र रुपमा रहेको गैरसरकारी चिकित्सकहरुले बताएका छन् ।

उनीहरुले हाल कायम गरिएको पीजी सिटको कोटालाई संसोधन गरि खुला प्रतियोगिताबाट ७० प्रतिशत, सरकारी सेवामा कार्यरत व्यक्तिबाट २० प्रतिशत र विदेशी विद्यार्थीबाट १० प्रतिशत गर्नुपर्ने, दुर्गम क्षेत्रमा काम गरे बापतको अंकभार व्यवस्थालाई खुला कोटामा समावेश नगर्न, चिकित्सा शिक्षा नियमावलीमा सरकारी चिकित्सकको परिभाषामा भएको कुरा संशोधन गर्नुपर्ने लगायतका माग राखेका छन्।