राष्ट्र बैङ्कद्वारा आन्तरिक ऋण उठाउन सुरु

काठमाडौँ :आर्थिक वर्ष २०७७/७८ को बजेटले व्यवस्था गरेको २ खर्ब २५ अर्बको आन्तरिक ऋणका लागि सरकाले कार्यतालिका स्वीकृत गरेको छ । नेपाल राष्ट्र बैङ्कले पठाएको प्रस्तावलाई बिहीबार अर्थ मन्त्रालयले स्वीकृत गरेर फिर्ता पठाएसँगै चालु आर्थिक वर्षको लागि राष्ट्र बैङ्कले कार्यतालिका सार्वजनिक गरेको हो । अघिल्लो वर्ष वैशाख अन्तिममा मात्रै कार्यतालिका स्वीकृत गरे पनि यो वर्ष बजारमा तरलता बढेपछि सुरुम्र कार्यतालिका सार्वजनिक गरेर ऋणपत्र निष्कासन सुरु गरेको हो । बिहीबार मन्त्रालयले आन्तरिक ऋण निष्कासन तालिकाका साथै पहिलो चौमासको बोलकबोल तालिकासमेत स्वीकृत गरेर पठाएको राष्ट्र बैङ्क राष्ट्रऋण विभागकी कार्यकारी निर्देशक डा. नीलम तिमिल्सिनाले जानकारी दिइन् ।

प्रकाशित कार्यतालिका अनुसार पहिलो चौमासको कात्तिकसम्म ५७ अर्ब, दोस्रो त्रैमास अन्तर्गत मंसिरदेखि फागुनसम्म ५६ अर्ब र तेस्रो त्रैमास अन्तर्गत चैतदेखि असारसम्म १ खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ । कुल आन्तरिक ऋणमध्ये ७० अर्बको ट्रेजरी बिल, १ खर्ब ५० अर्बको विकास ऋणपत्र, ४ अर्ब रुपैयाँको नागरिक बचतपत्र र १ अर्ब रुपैयाँको वैदेशिक रोजगार बचतपत्र विक्री गरिनेछ ।

७० अर्बको ट्रेजरी विलमध्ये ९१ र १८२ दिन अवधिको ऋणपत्र २१/२१ अर्ब र ३६४ दिनको ऋणपत्र २८ अर्बको ऋणपत्र बिक्री हुनेछ । त्यस्तै, १ खर्ब ५० अर्बको ऋणपत्र मध्ये ५ वर्ष अवधिको ३० अर्ब, ६ वर्ष अवधिको २० अर्ब, ७ वर्ष अवधिको ३० अर्ब, ८ वर्ष अवधिको ३० अर्ब, ९ अर्ब अवधिको २० अर्ब र १० वर्ष अवधिको २० अर्ब रुपैयाँ बराबरको बिक्री हुने राष्ट्र बैङ्कको कार्यतालिकामा उल्लेख गरिएको छ । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको अवधि भने ५/५ वर्षको हुनेछ ।