पर्यटकको पहिलो रोजाई सौराहा

चितवन : देशकै तेस्रो पर्यटकीय गन्तब्यको रुपमा चिनिने चितवनको सौराहामा पर्यटकको चहलपहल विस्तार बढ्दैछ । कोभिड १९ को कारण गत चैत्रबाट बन्द भएको सौराहास्थित सयौ होटेल तथा रेस्टुरेन्टहरू यतिबेला पुन संचालनमा आएपछि पर्यटक आउने क्रम शुरु भएको हो  । करिब ६ महिनादेखि ठप्प रहेको यो पर्यटकीय गन्तब्य असोज १ गतेबाट संचालनमा आएपछि सुनसान र शान्त सौराहामा पर्यटकको चहलपहल बढेको हो  ।

सौराहामा साना र ठुला गरी करिब १ सय २० वटा होटलहरू संचालनमा छन भने, ८० देखि ९० वटा रेस्टुरेन्टहरू संचालनमा छन  ।करिब डेढ खर्ब लगानीमा संचालित होटल व्यवसायमा करिब ४ हजार ५ सय कर्मचारीले रोजगारी प्राप्त गरिरहेका थिए  ।
पर्यटक सुरक्षाको हकमा नेपाल टुरिजम बोर्डले तोकेको मापदण्ड अनुरुप सुरक्षाका सबै व्यवस्था मिलाएको होटल व्यवसायी सुमन घिमिरे बताउछन ।
क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले सौराहा खुल्ला गरेपछि, सुरक्षा चुनौती केवल पर्यटकलाई मात्र नभई, होटल व्यवसायी र त्यहाँ कार्यरत होटल मजदुरलाई पनि बढेकोले, सबैको लागि सुरक्षित वातावरण बनाएर अघि बढेको बताउछन ।
रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले रेस्टुरेन्टमा खटिने सबै कर्मचारीलाई मास्क, ग्लोबस र सेनिटाइजर अनिवार्य गरेको, अनि ग्राहकको सुरक्षाको लागि पनि प्रत्येक टेबलमा सेनिटाइजरको व्यवस्था गरेको बताउछन  ।
लामो लकडाउन र निषेधाज्ञाको कारण उकुसमुकुस भएका नेपालीहरू सुरक्षित स्थानमा खुलेर घुम्न र रमाइलो गर्न चाहन्छन  । यद्दपि सौराहामा अहिलेसम्म एकजना पनि संक्रमित फेला नपरेको कारणले पनि होला पर्यटकको रोजाईमा अन्य पर्यटकीय क्षेत्रको तुलनामा सौराहा पारेको होला  ।