सिटौलाले भेटे देउवालाई

काठमाडौ। गृह जिल्ला झापाबाट फर्केका नेता कृष्णप्रसाद सिटौलाले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

सभापतिसँग शनिबार भेटेका सिटौलाले महाधिवेशनको सुनिश्चिताका विषयमा छलफल भएको बताए। केन्द्रीय समितिले बनाएको कार्यतालिका कार्यान्वयन हुन नसक्ने बैठकमै आफुले राखेको उनले बताए। वर्षात्‌को समयमा क्रियाशील सदस्यता वितरण र नवीकरण हुन नसक्ने केन्द्रीय समितिमै राखेको उनले बताए। उनले भने, ‘महाधिवेशन कार्यतालिका नै समयासापेक्ष थिएन। समयलाई नबुझेर बनाउनलाई बनाइदिएजस्तो भयो।’

महाधिवेशनको कार्यविधि र कार्यतालिकाको विषयमा सभापतिसँग आफ्ना धारणा राखेको उनले बताए। ‘फागुनमा महाधिवेशन हुन नसक्ने परिस्थिति बनिसकेको छ। देउवा-पौडेल दुवै जना महाधिवेशन फागुनमा हुनसक्छ भन्नुहुन्छ।’ कार्यतालिका बनाउँदा ध्यान नपुगेको सभापतिलाई पुनः स्मरण गराएको उनले बताए।

समायोजन, क्रियाशील सदस्यता वितरण, नवीकरणलगायतका कार्यतालिकाअनुसार नभएकोप्रति सभापतिको ध्यानाकर्षण गराएको सिटौलाले बताए।