कोरोनाबाट नेपालगञ्ज अस्पतालमा कार्यरत कर्मचारीको मृत्यु

काठमाडौं : कोरोना सङ्क्रणमबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेगाउँ निवासी ४७ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार मधुमेहको समस्या रहेका ती पुरुषको गत भदौ २९ गते स्वाब लिएर कोरोना परीक्षण गरिएको थियो ।

भदौ ३१ गते उहाँमा कोरोना पुष्टि भएको थियो ।

दुवैतिरको फोक्सोमा निमोनिया र मधुमेहको समस्या देखिएपछि उनीलाई भदौ ३१ गते शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसोलेशन वार्डमा भर्ना गरिएको थियो ।

बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ ।

मृतकको शव व्यवस्थापनका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले समन्वय र तयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।।