काम ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुन्छ : भौतिक पूर्वाधार मन्त्री

पाँचथर : भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले काममा ढिलाइ गर्ने ठेकेदारहरुलाई कडा कारबाही हुने बताउनुभएको छ । उहाले सरकारले ढिलासुस्ती गर्नेलाई कारबाही गर्ने काम सुरु गरेको पनि बताउनुभयो ।

जिल्ला सभाको उद्घाटन गर्न गृहजिल्ला पाँचथर पुगेका मन्त्री नेम्वाङले अब कसैले कुनै पनि बहानामा ढिलासुस्ती गर्न नपाउने बताृनुभयो ।
उहाले भन्नुभयो, ‘सरकारले उनीहरुको कबोल अनुसार पैसा दिएर निर्माणको ठेक्का दिएको हुन्छ । त्यो उनीहरुले समयमा सक्नुपर्छ । उनीहरुले काम नसक्दा गाली सरकारले खानुपर्छ । अब यस्तो हुँदैन । ढिला सुस्ती गर्नेलाई कडा कारबाही हुनेछ ।’

उहाले नेपालमा पूर्वाधार विकासको कामले पनि गति लिएको बताउनुभयो । अहिले देश कोभिडको महामारीसँग जुँधिरहेको भन्दै उहाले सरकारको लक्ष्य अनुसार काम अघि बढ्ने स्पष्ट पार्नुभयो ।

नेपाल ल्याएर थन्किएको रेलको प्रसंग उठाउँदै उहाले रेल नेपालको आवश्यकता भएको बताउनुभयो । अहिले देश कोभिडको महामारीसँग जुँधिरहेको भन्दै उहाले कोभिड अन्त्य भएसँगै प्रभावकारी रुपमा सञ्चालन गर्ने पनि बताउनुभयो ।

देश समृद्धिको बाटोमा अघि बढेको बताउँदै मन्त्री नेम्वाङले सबैले आ आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनुपर्ने बताउनुभयो।