एक दशकको उत्खननबाट के-के भेटियो तिलौराकोटमा ?

काठमाडौं । सन् १९९६ मा सरकारले विश्व सम्पदा सुचीमा राख्नका लागि प्रयास गर्न सकिने भनेर देशका सात स्थानलाई छनोट गर्यो । त्यसयताका २४ वर्षसम्म यस कार्यमा सिन्को पनि भाँचिएन । अहिले आएर बल्ल ती सातमध्येको एक तिलौराकोटलाई सुुचीमा सूचीकृत गर्नका लागि सरकारले तयारी थालेको छ ।

चालु आर्थिक वर्षको बजेटमा समावेश गरेर सरकारले सूचीकरणको प्रकि्रयामा जाने पहल गरेको हो । यो प्रक्रियाअनुसार पहिले नामाङ्कन, त्यसपछि त्यो क्षेत्र विश्व सम्पदामा सूचीकृत हुनुपर्ने आधार, त्यस क्षेत्रमा हुने वा हुन सक्ने व्यवस्थापनका तरिका लगायतका विवरणहरूसमेत युनेस्कोमा बुझाउनु पर्छ ।

प्रस्ताव गरेको एक वर्षमा नै लुम्बिनी विश्व सम्पदाको रूपमा सूचीकृत भएको थियो । तिलौराकोटलाई त्यतिबेला सम्भावित विश्वसम्पदामा सूचीकरण गरेको सरकारले थप प्रमाणहरू संकलन गरेर फेरि प्रकि्रया अघि बढाउन लागेको हो । सन् १९९१ को एउटा व्यवस्था अनुसार कुनै पनि मुलुकले विश्वसम्पदा सूचीमा सूचीकृत गर्न कम्तीमा एक वर्ष पहिले नै सम्भावित विश्वसम्पदा सूचीको रूपमा युनेस्कोमा नाम टिपाउनु पर्ने हुन्छ । १९९६ सालमा पनि नेपालले तिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा सूचीकरण गरेर यसको प्रमाण संकलन कार्य सुरु गरेको थियो ।

सन् १९९६ सालमा प्रस्ताव गर्दाको तुलनामा अहिले तिलौराकोटका बारेमा धेरै प्रमाण संकलन भइसकेको छ । प्राचीन शुद्धोधनको दरबार अहिलेको तिलौराकोट नै हो भन्ने धेरै प्रमाण संकलन गरिसकेको भए पनि यसको प्रकि्रया नै लामो रहेको पुरातत्व विभागका अधिकारीहरू बताउँछन् ।

प्रस्तावित विश्वसम्पदालाई युनेस्कोको सूचीमा सूचीकृत गर्न ६ किसिमका अपरेसनल गाइडलाइन्स छन् । जसमा सम्पदा अद्वितीय नमुनायुक्त स्थल भएको हुनुपर्ने, कुनै कालखण्डमा मानिसले सिर्जना गरेको वा प्रकृतिसँग मिलेर मानिसले सिर्जना गरेको सम्पदा हुनुपर्ने वा त्यस्ता सम्पदा मान्छेसँग प्रत्यक्ष जोडिएको हनुपर्ने जस्ता गाइडलाइन्स तोकिएको छ । यी ६ बुँदामध्ये कम्तीमा एउटा पूरा भएको हुनुपर्छ ।

पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर विश्वसम्पदा सूचीमा सूचीकृत हुनको लागि अहिलेबाट सुरु गर्ने हो भने कम्तीमा पनि ४ वर्ष लाग्ने बताउँछन् । उनका अनुसार स्थानीयसँगको अन्तक्रिया, स्थानीय सरकारहरूको सहमति लगायत सबै प्रक्रिया पूरा गरेपछि मात्रै युनेस्कोले प्रस्ताव स्वीकार गर्ने गर्छ ।

त्रिविको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख मदनकुमार रिमाल पछिल्लो एक दशकदेखिको उत्खनन्बाट प्राचीन शुद्धोधनको दरबार अहिलेको तिलौराकोटमा नै हो भन्ने प्रमाण मिलिसकेको बताउँछन् ।

उत्खननबाट प्राप्त प्रमाण

आधिकारिक रूपमा सार्वजनिक नगरिएको भए पनि झण्डै एक दशक लामो उत्खनन्ले प्राचीन कपिलवस्तु राज्यको राजधानी वा शुद्धोधनको दरबार हाल कपिलवस्तु जिल्लाको तिलौराकोटमा नै थियो भन्ने तथ्य लगभग पुष्टि गरिसकेको छ । युनेस्कोले माग गरेको ६ वटा गाइडलाइनमध्ये आफूसँग भएको प्रमाण जुन गाइडलाइनसँग मिल्छ त्यसैसँग मिलाएर प्रस्ताव गर्न सकिने कुँवर बताउँछन् ।

मानवबस्तीको कुल १४ वटासम्म तह भेटिएको तिलौराकोटमा बुद्धभन्दा ५ सय वर्ष पहिलेसम्मका प्रमाणहरू पाइएको छ । तिलौराकोटको उत्खनन्मा सबैभन्दा पुरानो प्रमाण भनेको खैरो रंगका माटोका भाँडा र रातो रंगका माटोका भाँडा हुन् । ती भाँडाहरू ईसापूर्व ११ औं शताब्दीदेखि ईसापूर्व आठौं शताब्दीसम्मको मानिएको छ ।

पीसी मुखर्जीले तिलौराकोटमा पहिलो पटक सन् १८९९ फेब्रुअरी ३ मा वैज्ञानिक उत्खनन गरेर प्राचीन यो कोटलाई शाक्य राजधानीको रूपमा पुष्टि गरेका थिए । उनले यो दरबार क्षेत्र दक्षिणदेखि उत्तरसम्म १,६०० फिट -४८७.६८ मिटर) र पूर्वदेखि पश्चिमसम्म १,००० फिट -३०४.८ मिटर) सम्म फैलिएको उल्लेख गरेका थिए । उत्तरबाट दक्षिणतर्फमा पर्खालको नाप ५०० मिटर रहेको, किल्लालाई घेरिएको र्‍याम्पार्टहरूमा सुदृढ रूपमा १२/८/२ इन्च आकारका इँटाहरु पाइएको र भित्ता १०/१२ फिट चौडाइको रहेको उत्खनन्को क्रममा पाइएको छ । बौद्ध धर्मशास्त्रले यसको उचाइ १८ फिटको रहेको उल्लेख गरेको छ ।

सबै दिशामा सुरक्षा पर्खालहरुको वरिपरि एउटा गहिरो खाडलको डिजाइन गरिएको थियो । यसले दरबारको मजबुत रक्षा प्रणालीलाई इंगित गरेको छ । मानिसलाई त्यो नहर तरेर आवतजावत गर्नका लागि पुलको व्यवस्था गरिएको थियो ।

प्रत्येक दिशामा सुदृढ पर्खालको साथमा चारवटा फाटकहरू रहेको समेत पत्ता लागेको छ । चारवटा फाटकमध्ये पुरातत्वविद्हरूले अहिलेसम्म दुईवटाको मात्रै खोजी गरेका छन् । पश्चिमी ढोका इँटा, इँटब्याट्स, काठ र फलामका सामग्रीहरुले बनेको पाइएको छ । एकपछि अर्काे ढोकाअनुसार यो मिलेर बसेको छ । पुरातत्वविद् टीएन मिश्रले गेटवे निर्माणका तीन चरणहरूको बारेमा बताएका छन् । उनले पहिलो र दोस्रो लेयरको समय ईपू दोस्रो र पहिलो शताब्दीको रहेको मानेका छन् ।

पी. सी. मुखर्जीले सन् १८९९ मा पूर्वी ढोका पत्ता लगाएका थिए । उनले ढोकाको नजिकै रहेको एक विशाल वर्गाकार भवनको बारेमा उल्लेख गरेका छन् । जुन माथि ढाकिएको छैन । पूर्वी किल्ला पर्खालहरुको बीच भाग, जसलाई बुद्धको महाभिनिस्क्रमनद्वार वा मंगल द्वार भनेर चिनिन्छ । त्यही ढोका हो जहाँबाट राजकुमार सिद्धार्थ राजदरवारबाट बाहिर निस्किएका थिए ।

कन्थक स्तुपा

मूल ढोकाको १०० मिटर पूर्वमा एक स्तुप रहेको छ । जसमा राजकुमार सिद्धार्थको मनपर्ने घोडा कन्थकको मृत्यु भएको विश्वास गरिन्छ । त्यही घोडाको अस्तु राखेर त्यहाँ स्तुप निर्माण गरियो ।
एनोमा नदी पार गरेपछि सिद्धार्थले आˆनो कपाल खौरिएर औपचारिक रूपमा भिक्षुको संसारमा प्रवेश गरेका थिए । त्यहीँबाट उनले घोडालाई पनि फिर्ता पठाइदिए । यसको उद्देश्य बोधिसत्वलाई विलासिताको संसारबाट बाहिर निकाल्नु र सही ज्ञान प्राप्त गर्न सहयोग गर्नु थियो । उनले आफ्नो सारथि छन्दक र घोडा कन्थकलाई फिर्ता पठाए । घोडाले आफ्नो निहित उद्देश्य पूरा गरिसकेको थियो । त्यही कारणले पनि ऊ दरबारको प्रवेशद्वारमा प्रवेश गर्नुअघि आफ्नो प्राण त्याग गर्यो भन्ने विश्वास छ । पुरातात्विक उत्खनन्बाट यो स्तुपको समेत ऐतिहासिकता पत्ता लागेको छ ।

पूर्वोत्तर पोखरी

एक विशाल मानव निर्मित पोखरी दरबार क्षेत्रको उत्तरपूर्वी कुनामा अवस्थित छ । पुरानो पोखरी शाक्य राजदरबारको आनन्दका लागि निर्माण गरिएको हुन सक्ने विश्वास गरिन्छ । यो पनि परिकल्पना गरिन्छ कि दरबारको दक्षिणतर्फ पनि अर्को पोखरी छ । मुखर्जीले तिलौराकोट उत्खननको क्रममा धेरै पोखरीहरूको बारेमा उल्लेख गरेका छन् । ललित विस्तराले शुद्धोधनको दरबारमा थुप्रै पोखरीहरू रहेको उल्लेख गरेका छन्् । तर पुरातात्विक उत्खनन्मा भने धेरै पोखरी भेटिएको छैन ।

समईमाई मन्दिर

समईमाई मन्दिरमा वनदेवीको स्थान छ । किल्लाको उत्तर पश्चिमी भागमा सो मन्दिरको पूरक अंश भेटिएको छ । यस मन्दिरमा बौद्ध साहित्यहरूमा उल्लेख गरिएअनुसार शाक्य वंशका सदस्यहरूले पूजा गरेको जस्तो लागेका पुरानो शिल्पकलाका टुक्राहरू पाइएको छ । ललित विस्तरामा शाक्य दरबारको परिसरमा मन्दिरहरू र प्रारम्भिक चिनियाँ तीर्थयात्रीहरूको यात्रा विवरणहरूमा समेत यसबारेमा उल्लेख गरिएका छन् ।

दरबार क्षेत्र

जापानी पुरातत्वविद्हरूले नाकामुराको नेतृत्वमा किल्लाको उत्तर पश्चिमी भागमा दरबार जस्तो भग्नावशेषको खोजी गरेका थिए । जसलाई उनीहरूले पुरानो शाक्य दरबारको उत्तरी भाग हुन सक्ने अनुमान गरेका थिए । यसमा यस्तो खुलासा पनि गरिएको थियो कि यो सानो भए पनि सम्भवतः दरबारको मुख्य भवनको एक हिस्सा हो । यद्यपि यसका शाखाहरू शाक्य राजवंशसँग सम्बन्धित छन् ।

धातु कार्यशाला

टिएन मिश्रले दक्षिणी रक्षा पर्खाल नजिक एक धातु कार्यशाला समेत फेला पारेका थिए । उनका अनुसार, कार्यशालालाई हतियार, कृषि औजार र घरेलु भाँडा बनाउने काममा प्रयोग गर्ने गरिएको थियो । कार्यशाला नजिकै धातु वस्तुहरू फेला परेका छन् । तिनीहरूमा दुई ठूला पानी संकलन स्थलहरू, तामाको भाँडाका टुक्राहरू, प्रारम्भिक तामाका सिक्काहरु, दुई फलामका उपकरण समेत पाइएका छन् ।

यस इलाकामा हतियार कारखाना र सिक्का, हतियार प्लान्ट आदिको खोजले यो शाक्यहरुको राजधानी सहर हो भन्ने धारणालाई बल मिलेको छ ।

प्राचीन सडकहरू

मिश्रले छैटौं वा सातौं शताब्दी ईसापूर्वबाट सुरू भएर दोस्रो शताब्दी ईसासम्मका पुराना सडकहरु समेत उत्खनन्को क्रममा पत्ता लगाएका छन् । केही सडकमा दुवैतर्फ ढुंगाको किनारा छ । केही सडकमा आठ ईन्च सोलिंग गरिएका फलामका स्ल्यागहरु समेत भेटिएको छ । वरपर यस्तो सुधारिएको सडकले समेत संकेत गर्छ कि यो ठाउँ एकदम शक्तिशाली राज्यको राजधानी थियो ।

माटोका भाँडाहरू

माटोका विभिन्न किसिमका भाँडाकुँडाहरू तिलौराकोटमा फेला परेका छन् । छैठौं शताब्दी ई.पू.देखि सुरु भएर आठौं शताब्दी ईसासम्मका पेन्टेड ग्रे वेयर, नर्दन ब्ल्याक पोलिस वेयर (एनबीपी वेर), कालो र रातो माटाका भाँडाहरू आदि भेटिएका छन् ।

टेराकोटा मूर्तिहरू

मानवमूर्तिहरू, पशुमूर्तिहरू, खेलौना गाडाहरू र खेलौना सामग्रीहरु, तिलौराकोटबाट देवला मित्राले पत्ता लगाएकी थिइनन् । यी मूर्तिहरू मौर्य, शुंग, कुषाण कालका थिए ।

सिक्काहरु

मिश्रले चाँदी र तामाको पञ्चचिहृनित सिक्का, प्रारम्भिक कास्ट सिक्का इत्यादि तिलौराकोटबाट संकलन गरेका थिए । विभिन्न कालखण्डका विभिन्न आकारका सिक्का उत्खनन्को क्रममा फेला परेको थियो । सिक्कामा मुख्यतया तामाका वस्तुहरू धेरै थिए । यी सिक्काहरुले प्रमाणित गर्दछ कि शाक्य राज्यमा व्यवस्थित व्यापार र समृद्धि थियो ।

पुरातात्विक अध्ययन किन ?

जतिबेला भगवान गौतमबुद्धको जन्मस्थान लुम्बिनीमा भएको हो भनेर लेखिएको शिलास्तम्भ पाइयो, त्यसपछि उनको दरबारको खोजी हुन सुरु भयो । त्यसको लागि सबैभन्दा पहिले साहित्यिक स्रोतको नै सहयोग लिनु सहज थियो ।

बौद्धग्रन्थ दीग्घ निकायले कपिलवस्तु हिमालयको काखमा दिव्यवदानले भागिरथी नदीको किनारामा भएको उल्लेख गरेको छ । त्यस्तै, जातक कथाहरूले कपिलवस्तु सातवटा पर्खालले घेरिएको र ती पर्खालहरू १८ फिटसम्म अग्ला रहेको उल्लेख गरेको छ । कपिलवस्तुको दक्षिणमा कुशिनगर, पश्चिममा राप्ती नदी र पूर्वमा रोहिणी नदी भएको चर्चा पनि साहित्यिक स्रोतमा पाइएको छ ।

त्यस्तै, ईश्वी संवत् ४०३ मा कपिलवस्तु आएका चिनियाँ तीर्थयात्री फाइयानले उजाड बन्दै गएको कपिलवस्तु लुम्बिनीबाट ५० माइलको दुरीमा रहेको उल्लेख गरेका छन् । त्यस्तै, त्यसको झण्डै साढे २ सय वर्षपछि ईश्वी ६३६ मा कपिलवस्तु आएका भौगोलिक दूरताका ज्ञाता हृवेनसाङले कपिलवस्तु लुम्बिनीबाट ३० माइलको दुरीमा रहेको बताएका थिए । उनले नै साढे २ माइलमा फैलिएको कपिलवस्तु नगरको वरपर सुरक्षा पर्खालले घेरिएको उल्लेख गरेका थिए ।

यी सबै प्रमाण हुँदाहुँदै पनि यकिन ठाउँ पत्ता नलागेका कारण तत्कालीन शुद्धोधनको दरबार यही ठाउँमा हो भन्ने वैज्ञानिक आधार भएन । त्यसैले विश्वसम्पदा सूचीमा सूचीकृत गर्नुपूर्व त्यहाँ वैज्ञानिक विधिबाट उत्खनन् गरिएको थियो ।