चितवनमा क्यान्सर सतर्कता दिवस मनाईयो, खानपानमा विशेष ध्यान दिन मन्त्री ढकालको सुझाव (भिडियो)

चितवन : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहारविहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१औँ वार्षिकोत्सव तथा १६औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले यस विषयमा जनचेतना जगाउनन आवश्यक रहेकामा जोड दिनुभयो ।

मन्त्री ढकालले भन्नुभयो, “हामीले खानपान र आहारबिहारमा ध्यान नदिँदा क्यान्सर रोगबाट ग्रसित हुनुपरेको छ ।” मानिसमा हुने मोटोपन, शारीरिक रुपमा निस्क्रयता, हरिया सागसब्जी तथा फलफूलको कम प्रयोग, मदिरा र सुर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर रोग निम्त्याउने उहाँले बताउनुभयो ।

क्यान्सर रोगका सङ्क्रमितमध्ये एक तिहाईको मृत्यु हुने गरेको, एक तिहाईको निको हुने गरेको र एक तिहाईलाई केही मात्रामा घटाउन सकिएको भन्दै मन्त्री ढकालले रोग लाग्नुभन्दा लाग्नै नदिनु उत्तम रहेको बताउनुभयो । अहिले सरकार निरोगी नेपाल निर्माणको क्रममा रहेको भन्दै उहाँले यस अभियानमा सबैलाई साथ दिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “निरोगी नेपाल निर्माण गर्ने अभियानमा सरकार लागेको छ ।” नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीको नामबाट स्थापना गरिएको यस संस्थाले क्यान्सरका बिरामीको उपचार र रोकथामका लागि विश्वास आर्जन गर्दै आएको उहाँको भनाइ थियो । अस्पतालले आर्जन गरेको विश्वासकै कारण देशका विभिन्न स्थानबाट यहाँ बिरामी उपचार गर्न आउने गरेको भन्दै मन्त्री ढकालले यसलाई अझै बढाउन आवश्यक रहेको जानकारी दिनुभयो ।

मन्त्री ढकालले वर्तमान सरकार कुरामा भन्दा पनि काममा विश्वास गर्ने भएकाले सबैले आआफ्नो तर्फबाट समाज र राष्ट्रका लागि काम गर्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै अस्पतालका उपनिर्देशक डा.कृष्णसागर शर्माले स्वागत मन्तव्य राख्दै नेपालमा क्यान्सरको भयाभय बढ्दै यसको रोकथामका लागि सरकारले रिर्सच सेन्टरको रुपमा अस्पताललाई विकास गर्नुपर्ने धरण राख्नुभयो ।

कार्यक्रममा अस्पताल सञ्चालक समिति सदस्य निशा अधिकारीले क्यान्सर सुधारका लागि नयाँ समिति छिटै नयाँ खालको कार्यक्रम सार्वजनिक गर्ने जानकारी गराउदै उनले क्यान्सरका कर्मचारीहरुले समेत क्यान्सर सेवामा सुधार गर्नुपर्ने धारण राख्नुभयो ।

विश्वमा वार्षिक ९६ लाख जनाको क्यान्सरका कारण मृत्यु हुने गरेको छ भने नेपालमा वार्षिक २६ हजार हाराहारीको क्यान्सरका कारण मृत्यु हुने गरेको छ ।

यसमध्ये ७० प्रतिशत व्यक्ति न्यून आय भएका व्यक्तिहरु रहेको सो अवसरमा जानकारी दिइयो । अस्पताल सञ्चालक समितिका अध्यक्ष डा निर्मल लामिछानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अस्पताल सञ्चालक समिति सदस्य निशा अधिकारी, चिनियाँ टिमका टिम लिडर वी झ्याङ्लगायतले बोल्नुभएको थियो ।

सो अवसरमा अस्पतालका कार्यकारी दिर्नेशक डा.देजकुमार गौतमले अस्पतालको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । २१ वर्षअघि चीन सरकारको सहयोगमा यो अस्पताल स्थापना गरिएको हो । –––