बुटवल कोरोना विशेष अस्पतालमा थप २ जनाको मृत्यु

शिव डुम्रे, बुटवल :  प्रादेशिक अस्पताल लुम्बिनीद्वारा सञ्चालित बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको निधन भएको छ ।

गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो भने असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो ।

उनीहरु दुवैजनाको बिगत सात दिनदेखि भेन्टिलेटरको सहयोगमा उपचार चलिरहेको थियो ।नवलपरासीका संक्रमितमा कलेजो र मिर्गौलाको दीर्घ रोग रहेको र कपिलवस्तुको मृतकमा मधुमेह र मिर्गौलाको दीर्घरोग रहेको प्रवक्ता डा. विष्णु गौतमले बताए ।