चीनले नेपाली भूमि मिचेको छैन : नेपाल सरकार

काठमाडौं  : सरकारले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएको छ।

पछिल्लो समय चीनले नेपाली भूमिमा भवनहरु बनाएको खबर विभिन्न सञ्चारमाध्यममा आएपछि मन्त्रिपरिषद् निर्णय सार्वजनिक क्रममा सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारे बताएका हुन्।

यस्तै खबर २०७३ मा पनि आएको थियो। त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभागलगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत गरेको थियो।

उनले भने, ‘चीनले बनाएका भनेका घरहरु नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमै रहेछ।’ नेपाल चीनबीच सीमा समस्या छैन। यस्ता समस्या भएका भए बसेर छलफल गर्नुपर्ने उनले बताए।

साथै उनले यस्ता विषयमा रिपोर्टिङ गर्नुपूर्व सम्बिन्धित मन्त्रालयको सम्बिन्धित विभागको आधिकारिक धारणा सम्प्रेषण गर्नु राम्रो हुने उनले बताए।