पहिरोका कारण नारायणगढ –मुग्लिन सडक दुइतर्फी अवरुद्ध

चितवन  : अविरल बर्षासंगै लेदो सहित खसेको पहिरोले नारायणगढ –मुग्लिन सडक अवरुद्ध भएको छ । आज दिउँसो ४ : ३० बजे चितवनको इच्छाकामना ६ स्थित चारकिलोमा लेदो सहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार अवरुद्ध सडक खुलाउन समय लाग्ने छ । अहिले सडक हटाउने प्रयास भइरहेपनि पानी परिरहेकोले कठिनाई भएको प्रहरीले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अझै केही दिन निरन्तर बर्षा हुने र बाढी पहिरोको जोखिम पनि उच्च रहेकाले जरुरी अवस्थामा बाहेक केहि दिन यस सडकखण्ड भएर यात्रा नगर्नुहुन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।

यस अघि पनि विहान ७ बजे सोही स्थानमा लेदो खस्दा एकतर्फी मात्र सडक सञ्चालन भएको थियो ।