अविरल वर्षाले नारायणी नदीको सतह बढ्दै, तटिय क्षेत्रलाई ‘हाई अलर्ट’ रहन अपिल

चितवन : अविरल वर्षाका कारण चितवनलगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ । अहिले पनि भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा उचित सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज रातिबाट तिनाउ, पश्चिम राप्ती, बबई, नारायणी र कालीगण्डकीमा बहाव उच्च हुने तथा भोलि बिहीबार खतरा आसपास पुग्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

जल तथा मौसम विभागले भनेको छ , ‘सबै प्रदेशका थोरै थोरै स्थानमा भारी वर्षा साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ र कर्णाली प्रदेशका १÷२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’
बर्षाका कारण जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित रहन भनिएको छ भने सुरक्षाकर्मीहरुलाई ‘अलर्ट’ अवस्थामा राखिएको छ । पानी पर्ने क्रम जारी रहेकाले नारायणी नदीमा पानीको सतह बढ्दो क्रममा छ । यस कारण आसपास नदी नटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन अनुरोध पनि महाशाखाले गरेको छ ।