प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार चितवनका सुरेश अधिकारीलाई

काठमाडौँ  : प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार भिजन मिडिया नेटवर्कका अध्यक्ष तथा सफल खबरका प्रधान सम्पादक सुरेशचन्द्र अधिकारीले प्राप्त गर्नुभएको छ । काठमाडौँमा मंगलबार आयोजित प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा अधिकारीलाई पुरस्कृत गरिएको हो ।

उहाँलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सम्मानपत्र र पुरस्कार राशी प्रदान गर्नुभएको थियो । दुई दशकदेखि पत्रकारितामा कृयाशील अधिकारी चुरे सन्देश साप्ताहिकको प्रधान सम्पादक समेत हुनुहुन्छ । जनादेश, महिमा, ज्वाला साप्ताहिक, जनदिशा दैनिक, समावेशी मासिक, रातोपाटी डटकम, एबिसी टिभी लगायतका सञ्चारमाध्यममा काम गरेर पत्रकारिताको लामो अनुभव सँगाल्नुभएका अधिकारी प्रेस संगठन नेपालका केन्द्री नेता समेत हुनुहुन्छ ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्वउपाध्यक्ष अधिकारी हाल भरतपुर महानगरपालिकाको प्रेस सल्लाहकार हुनुहुन्छ । अधिकारी पत्रकारितासँगै सामाजिक क्षेत्रमा पनि कृयाशील हुनुहुन्छ ।