सरकारले गरेको निर्णयमा विभागले केही गर्न मिल्दैन : यातायात विभाग महानिर्देशक हमाल

काठमाडौं : सरकारले भाडा बढाएर सार्वजनिक यातायात सञ्चालन गर्न दिएकाले त्यस विषयमा यातायात व्यवस्था विभागले केही गर्न नसक्ने विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर यातायात सञ्चालन गर्न निर्देशन दिएको उनको भनाइ छ। उनका अनुसार अहिलेलाई यही भाडा कायम रहन्छ। सरकारले वृद्धि गरेको भाडामा विभागले केही निर्णय गर्न मिल्दैन।

‘सडकमा ट्राफिक प्रहरी र विभागका कर्मचारीले यात्रु बोकेका साधनले स्वास्थ्य तथा सामाजिक दूरी पालना गरेको नगरेको त्यसको अनुगमन गरिएको छ,’ उनले भने, ‘पूरा यात्रु बोकेर सञ्चालन गर्न सरकारले निर्णय गरेमा मात्र हुन्छ। सरकारले गरेका निर्णयहरु विभागले कार्यान्वयन भएको नभएको त्यसको मात्र अनुगमन गर्ने गरेको छ।’

‘सामाजिक दूरी गरिएको/नगरिएको अनुगमन भइरहेको छ’ सार्वजनिक यातायातमा यात्रु र मजदुरले सामाजिक दूरी कायम गरीएको नगरिएको त्यसको अनुगमन भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर प्रसाद यादव बताउँछन्।

आधा सिटमा बढी यात्रु राखिएको छ भने त्यस्ता सवारी साधनलाई कार्वाही गरिएको उनले जानकारी दिए। ‘प्रत्येक दिन गाडीलाई स्यानिटाइजर गरिएको हुनुपर्छ,’उनले भने, ‘यात्रु पनि सचेत हुनुपर्छ।

सवारीसाधनमा बढी यात्रु हुने भए यात्रुले यात्रा गर्न हुँदैन। एक जना सचेत भएर अरुले पनि सचेत भएर यात्रा गर्न सक्नेछन्। ‘स्वास्थ्य मापदण्ड पालना गरिएको नगरिएको त्यसको गम्भीरता साथ समिति बनाई अनुगमन भइरहेको उनको भनाइ छ।

व्यवसायी र मजदुर संघका सबै प्रतिनिधि सबैसँग बसी छलफल भइरहेको उनले जानकारी दिए।