सबै सिटमा यात्री राख्‍न पाउनुपर्ने व्यवसायीको माग

काठमाडौं : सार्वजनिक यातायातमा पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउनुपर्ने राष्ट्रिय यातायात व्यावसायी महासंघका महासचिव सरोज सिटौलाले बताएका छन्।

सम्बन्धित मन्त्रालयका मन्त्री तथा सम्बन्धित पदाधिकारीलाई भेटी पूरा सिटमा यात्रु राखेर यातायात सञ्चालन गर्न पाउनुपर्ने माग राखिएको उनको भनाइ छ। उनका अनुसार उडान भर्नेलाई पूरा सिटमा यात्रा र सडकमा गुड्नेलाई आधा मात्र यात्रु राख्दा सरकारले विभेद गरेको छ।

‘सरकारसँग राहत माग्दा सार्वजनिक यातायातको भाडा बढाइदिएको छ, व्यवसायीको आग्रहमा नबढाइएको हो,’ उनले भने,’ सरकारी रेटभन्दा बढी भाडा लिए वा स्वास्थ्य मापदण्ड पालना नगरेमा जुनसुकै सवारीसाधनलाई कानुनबमोजिम कार्वाही गर्नुपर्छ।’

हाम्रो स्वेच्छाले सर्वसाधारण यात्रुसँग बढी भाडा नलिएको उनको दाबी छ। स्वास्थ्य मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्छौं र सबै यात्रुलाई पालना गर्नलाई आग्रह गरिएको उनले प्रस्ट पारे।

यातायात व्यवसायीलाई इन्धनमा छुट दिन सकेको भए भाडा नबढाइ पनि यात्रा गराउन सकिने उनले सुनाए।