गुर्जोको रस कोरोना विरुद्ध अचूक

तनहुँ : कोभिड-१९ को सङ्क्रमण बढेसँगै तनहुँ जिल्लामा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ । रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो सेवनप्रति आकर्षण बढेको हो ।

कोरोनाको जोखिम बढेपछि गुर्जोको रस नियमित सेवन गर्न थालेको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडाका एकनारायण भण्डारीले बताउनुभयो । कोरोना जोखिम नदेखिदाँसम्म गुर्जेको वास्ता नभएपनि आजकल परिवारले नै नियमित सेवन गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

गाउँमा घरको वरपर र जङ्गलमा प्रशस्तै पाईने गुर्जो आजकाल शहरका बगैंचा र करेसामा समेत लगाउन थालिएको छ । नियमित सेवन गर्न थालेसँगै छिमेकीको खाली जग्गामा पनि गुर्जो लगाएको भण्डारीले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणमुक्त हुनुभएका देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले होम आइसोलेशनमा बस्दा नियमित रुपमा गुर्जोको रस पिएको जानकारी दिनुभयो ।

कोरोनाको सङ्क्रमणपछि गुर्जोप्रति आकर्षण बढेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले गुर्जोमा एन्टिबायोटिक र एन्टिब्याक्टेरियल गुण प्रशस्त पाइने जानकारी दिनुभयो । “कोरोनालाई मार्ने एन्टिभाइरल मेडिसिन अहिलेसम्म बनेको छैन, यसलाई जित्ने भनेको इम्युनिटी पावर बढाएरै हो । ३५ सय बढी अनुसन्धानबाट गुर्जोले इम्युनिटी पावर बढाउने पुष्टि भएको छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार ताजा गुर्जोलाई एक औला बराबर काटेर त्यसको पाँच मिलिटिर रस निकालेर बिहान बेलुका पिउनु उत्तम हुन्छ । रस बढी तितो भएर पिउन नसकेमा त्यसलाई टुक्राटुक्रा पारेर रातभर पानीमा भिजाउने र भोलिपल्ट पानीमा उमालेर सेवन गर्दा पनि हुने उहाँले सुझाव छ । उहाँका अनुसार गुर्जोको सेवनले नकरात्मक असर गर्दैन । गुर्जो कोरोना सङ्क्रमितले मात्रै नभएर अन्य रोगका बिरामीले पनि सेवन गर्न सक्ने उहाँले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना सङ्क्रमण भएर आइसोलेशनमा बसेका, जोखिमयुक्त स्थानबाट आएर क्वारेन्टिनमा रहेकाले मात्रै नभएर रोग प्रतिरोधात्मक क्षमता बढाइ सङ्क्रमण हुन नदिनलाई गुर्जोको रस र धुलो सेवन गर्ने गरिएको छ । उहाँका अनुसार गुर्जो शताब्दीदेखि नै औषधिका रुपमा प्रयोग भएतापनि पछिल्लो समयमा त्यति प्रयोग हुन्थेन । औषधीय गुणले भरिपूर्ण वनस्पति गुर्जोको लहरा कोरोना सङ्क्रमण देखिन थालेपछि चर्चामा आएको हो ।