प्याज कालोबजारी गर्ने व्यापारी पक्राउ

नवलपरासी : प्याजको मनपरी मुल्य वृद्धि गरी कालोबजारी गर्ने परासीका व्यापारीलाई कारवाही गरिएको छ । प्रतिकिलो ४४ रुपैयाँमा थोकमा प्याज खरिद गरेका व्यापारीहरुले ८० देखि १ सय रुपैयाँमा बिक्री गरेको भेटिएको बजार अनुगमन समितिले जनाएको छ ।

गोदाममा प्याज भएपनि अभाव देखाएर व्यापारीहरुले कालोबजारी गर्ने गरेको पाइएको बजार अनुगमन समितिका निरीक्षण अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनुभयो । प्याजमात्रै होइन व्यापारीले आलुमा पनि आफुखुसी मूल्य निर्धारण गरि बिक्री गरेको पाइएको छ । प्रति केजी ३० रुपैयाँमा थोकमा खरिद गरिएको आलु बजारमा ५५ देखि ६० सम्म बिक्री भएको पाइएको छ ।

व्यापारीहरुको गोदाममै पुगेर गरिएको अनुगमनका क्रममा केही व्यापारीहरुले बिना दर्ता पसल सञ्चालन गर्ने गरेको पाइएको उद्योग अधिकृत नेत्र भुषालले बताउनुभयो । त्यसरी चर्को मूल्यमा प्याज बिक्री गर्ने र बिना दर्ता पसल सञ्चालन गर्ने ४ जनालाई जनही ६० हजार र १ जनालाई २० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ ।

व्यापारीले भारतबाट निर्यात बन्द भएपछि पुरानो स्टक प्याजको पनि आफुखुसी मुल्य वृद्धि गरी बिक्री गर्दै आएका थिए । थोकमै एक सय सम्ममा प्याज बिक्री भएपछि बजारमा खुद्रा मुल्य एक सय ३० रुपैयाँसम्म पुगेको थियो ।