चितवन मेडिकल कलेजमा २ जना कोरोना संक्रमितको मृत्यु

 

चितवन : चितवनमा आइतबार एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा घर भएकी एक महिला र चितवनका एक पुरुषको मृत्यु भएको हो ।

मेडिकल कलेजले दिएको जानकारी अनुसार उपचारको क्रममा हेटौंडा उपमहानगरपालिका-१० की १७ वर्षीया युवतीको मृत्यु भएको हो । ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि गत भदौ २२ गते उनी अस्पताल भर्ना भएकी थिइन् । भदौ २४ गते उनमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि सघन उपचार कक्षमा राखेर उनको उपचार गरिएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

आइतबार बिहान मात्रै साेही कलेजमा चितवनको कालिका नगरपालिका–५ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।