आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छः प्रधानमन्त्री

काठमाडौं । मुलुकको आवश्यकता एवं औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने गतिशील दस्तावेज भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बातएका छन् । उनले स्थिरता र स्थायित्वका नाममा संविधान गतिहीन र परिवर्तन गर्न नसकिने विषय नभएको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित ‘अ ट्रिटिज अन दी कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक सार्वजनिक गर्नुहुँदै उहाँले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले भने, ‘देश र जनताका आवश्यकताका लागि औचित्यका आधारमा संशोधन र परिमार्जन गर्नुपर्ने हुन पनि सक्दछ । त्यसका लागि हामी सबै खुला दिमाग राखेर तर बिनाबहकाव तयार पनि हुनुपर्दछ ।’

प्रधानमन्त्री ओलीले संविधानलाई कार्यान्वयन हुन नदिने र असफल पार्ने प्रयासहरू जानेर, नजानेर वा योजनाबद्ध रूपमा भए–गरेका तर तिनलाई नेपाली जनताले पराजित गर्दै आएको चर्चा गरे । उनले भने, ‘नेपाली जनताको सचेतना हाम्रो सबैभन्दा ठूलो तागत हो, कि जनताको सचेतना संविधान निर्माणको महाअभियानमा सरिक भयो ।’

संविधानले चाहेको स्थिरता, स्थायित्वका लागि नेपालका राजनीतिक शक्तिहरू सक्षम रहेकोसमेत उनले बताए । ‘सरकार, राजनीतिक शक्तिहरू र सचेत जनता परिवर्तन एवं उपलब्धिहरूको रक्षा सुदृढ गर्दै गतिशील ढङ्गले अगाडि बढाउन सक्षम छन्,’ प्रधानमन्त्रीले स्पष्ट पारे । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।