बिद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोईराला

काठमाडौ  : कुलमान घिसिङ चारवर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा कोइरालालाई नियुक्त गरेको मन्त्रीको सचिवालय जानकारी दिनुभयो ।

वरिष्ठतालाई समेत ख्याल गरेर मंगलबार मन्त्रिस्तरीय निर्णयबाट उपकार्यकारी निर्देशक कोइरालालाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो । अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालालाई प्राधिकरणको दैनिक कामकाज सम्हाल्ने गरी जिम्मेवारी तोकिएको हो । कोइराला प्राधिकरणका कार्यरत १२औं तहका उपकार्यकारी निर्देशक हुन् ।
२०७३ भदौ २९ गते मन्त्रिपरिषद्बाट प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका घिसिङको चारवर्षे कार्यकाल भदौ २८ गते मध्यरातबाट सकिएको हो । घिसिङ कार्यकाल सकिएपछि प्राधिकरणका कर्मचारीले मंगलबार एक कार्यक्रम आयोजना गरी बिदाइ गरेका छन् । बिदाइ कार्यक्रममा सरकार र राजनीतिक नेतृत्वको मार्गदर्शन अनुसार सबै कर्मचारीले काम गर्दा यो तहसम्मको सफलता पाएकोले अबको दिनमा पनि प्राधिकरण थप सबल बन्दै जाने विश्वास व्यक्त गरेका थिए ।

लोडसेडिङको अन्त्य, घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेकोका कारण घिसिङलाई सर्वसाधारणले निकै रुचाएका छन् । सामाजिक संजाललगायतबाट सर्वसाधारण, कलाकार नागरिक अगुवाले उनलाई पुनः नियुक्त गर्नुपर्ने दबाब दिँदै आएका छन् ।