नारायणगढ मुग्लिङ सडक पुनः अवरुद्ध

चितवनः पहाडबाट लेदो झरेर नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाको कारण सडकखण्डको चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहाडबाट लेदो झर्ने क्रम नरोकिदा आज (बुधबार) बिहान ६ बजेखि सो सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । सडकमा झरेको लेदो हटाउनका लागि डोजर पुगेको भएपनि पानी परिरहेका कारण हटाउन समस्या भएको तामाङको भनाइ छ । पानी पर्न रोकिएपछि लेदो हटाएर आवागामन सहज बनाइने तामाङले बताए ।
‘खासै धेरै लेदो झरेको छैन तर झर्ने क्रम रोकिएको पनि छैन’ तामाङले भने, ‘हटाउन सुरु गरेको दुई घण्टामा लेदो हटाएर सकिन्छ ।’ निरन्तर पानी परिरहेकाले सो सडक खण्ड पटक पटक अवरुद्ध भइरहेको छ । नारायणगढ मुग्लिन भएर यात्रा गर्ने यात्रुहरुलाई बैकल्पिक सडकको प्रयोग गर्न समेत उनले आग्रह गरेका छन् ।