लघुकथा:कर्मको खेल

गोमा सिटौला,

उकाली–ओरालि र मेलापातमा भ्याइनभ्याई पसिना चुहाउन बिबश गाँउलेहरुलाई, यसपालि चुनावको माहोलले गर्दा,बाटोघाटो, चौतारा र कान्छिको चिया पसलमा निकै फुर्सदिलो र प्रसन्नताका साथ, झुन्ड–झुन्ड बसेर, ठूल्ठूला राजनीति गफ हाँकेको देख्दा, नेताहरुले “हाम्रो उद्देश्य नै तपाईंहरुको मुहारमा खुशी झल्काउनु हो भन्थे” सायद ‘खुशी’ भनेको यहि होला, मेरो सुस्त मनस्थितिले बुझ्थ्यो।

म दुई महिनाको छोरोलाई घाममा सुताउँदै थिएँ। त्यतिखेर साईरन बजाउदै हुँइकिएको गाडिको आवाजले ,छोराको निन्द्रा बिथोलिएर रुन थाल्यो।
भित्रबाट आमा रिसाउँदै भनिन्-“यिनिहरुलाई चुनाब हारिएला पीर छ। आफुलाइ नाति दुब्लाउला भन्ने पीर छ।” सुत्नै दिएनन्, बज्याहरुले ।नानी , बाबूलाई भित्र लगेर सुता।पल्लो गाउँको निधिरामको छोरा “रिवाज” चुनावमा उठेको छ । आज स्कुल नजिकैको चौतारीमा भाषण छ।´´
“आमा– रिवाज दाइको दुई वटा श्रीमती हैन?´´–मैले सोधे
“हो नि! मोराले जेठी हुँदा- हुँदै कान्छीलाई पनि,` म कुमार केटा हो ´भनेर भगाएर लेराएछ। पढेको, हुने खाने श्रीमान् भएर पनि निरह, एक्लो गाउँले जीवन बिताउन बाध्य छ जेठी। उता कान्छिलाई भने शहरमा महल बनाएर, “रानी” जस्तो गरि पालेको छ।
नानी, आ–आफ्नो कर्मको खेल…हिँड जाउँ, रिवाजको भाषण सुन्न।´´ _आमाले भनिन्।

बाटोभरी आमाले भनेको, `कर्मको खेल´शब्दले पोल्छ मलाई। हराउँछु, आफै भित्र, के विवाहित पुरुष, सुरा–सुन्दरीको ईशारामा निरह भएर स्त्रीगमनमा रमाउँछ भने एउटा विवाहित नारीको कर्मको दोष हुन्छ? पुरुषको हरेक गल्ती र कमजोरिलाई नारीको भाग्यसँग तुलना गर्न मिल्छ? उत्तर पूरा नहुँदै निरन्तर प्रतिउत्तरले फेरि प्रश्नवाचक चिन्ह खडा गराईरहँदा, नेताको भाषणले झर्सङ्ग भए ।´´
त्यतिखेर `नेता´,भन्दै थिए –“गाउँघरको विकास, बाटोघाटो, बेरोजगार युवाहरू, पिछडिएका जनजाती, वृद्ध भत्ता, पुरुष पीडित नारीको हकहित, वहुविवाह, बालविवाह र छोरी भ्रुण हत्याको वहसमा बलियो आवाज उठाउनलाई नै मैले चुनावमा उम्मेद्वारी दिएको हो। यदि चुनावमा जितेँ भने ,वीरहरुको रगतको र देशको माटोको कसम खाँदै भन्दैछु । यी सबै कुराको विकास र उद्धार गरेरै छाड्नेछु।´´

ताली तररर बज्छ…
तर हुलको बिचबाट कसै कसैले भनेको सुने
नेता ज्यू! “तपाईंबाट पीडित जेठी श्रीमतीको पहिला उद्धार गर्नुहोस् । त्यसपछि हामी गाउँलेको र देशको बारेमा सोच्नुहोस्।´´