कथा : मायाको परिभाषा

शारदा पौडेल,

मङ्सिर महिनाको घमाइलो दिन थियो । चारैतिरको कुहिरो फारेर घाम लागे पनि मेरो मनमा डम्म बादल लागेको थियो । जति मनलाई सम्झाउन खोजे पनि फिटिक्कै सम्झाउन सकेकी थिइन ।

छोराछोरीलाई भनौँ भने उनीहरूलाई मामाघर कहाँ हो ? मामा कतिजना छन् र कस्ता छन् भन्ने थाहासम्म थिएन । बुढासँग भनौँ भने उहाँलाई अतित कोट्याएर दुखी बनाउनु शिवाय केही हुँदैनथ्यो ।

के गरुँ, कसो गरुँ ? दोधारमा परिरहेँ । मनलाई एउटा निचोडमा पुर्‍याउन खोज्थेँ तर सक्दैनथेँ । अघिसम्मका पहारिला घाम पनि हराउँदै गए । बिस्तारै चिसो हावा चल्न थाल्यो । त्यो चिसो हावाको झुक्काले बरु मलाई एकाएक गर्मी बनायो । औडाहा भएर आयो । झनै दिमागले काम गर्नै छाड्यो ।

यस्तो जाडोमा यहाँ बसेर के गर्छौँ ? खुरुक्क कोठामा हिँड ।अहिले बिरामी भइन्छ भन्दै उहाँ आउनु भयो । म केही बोलिन र सरासर उहाँको अघिअघि लागेँ ।

सोचेँ कति महान हुनुहुन्छ हजुर । मलाई माइतीले लत्याउँदा झैं हजुरले पनि लत्याएको भए म आज कहाँ र कसोरी बस्ने थिएँ होला । एकोहोरो उहाँलाई हेरिरहन मन लाग्यो । कुनै दिन तेरा माइती यस्ता तँ यस्ती भनेर सुनाउनु भएन । माइतीको रीस मलाई फेरिदिएको भएपनि आखिर मैले सहनै पर्ने थियो । सोच्दै थिएँ, आँखा रसाए, मुटुमा गाँठो पर्यो । डाँको छाडेर रुन मन लाग्यो ।

मेरो स्थितिलाई उहाँले नजिकबाट नियालिरहनु भएको थियो । मेरो अवस्थाले दुखी हुँदै भन्नूभयो — के भयो कालू ?
म बोल्न सक्ने अवस्थामा थिइन । मभित्र मत्थिएका कुराहरूलाई मनरुपी मदानीले कुनै ठेगानामा पुर्‍याउन सके कै थिएन । मैले ढिलोचाँडो भन्नैपर्छ सोचेँ र भने —- दाइले छोरीको बिहेमा निम्तो गरेका रहेछन् । जान मन छैन । नजाँदा पनि भएन । भोलि छोराछोरीलाई मावली त रहेछन् भन्ने जानकारी पनि त दिनु छ — मैले भनेँ ।

मेरा कुराले अतित सम्झेर म माथि नै रीस पोख्नुहुन्छ कि झैं लागेको थियो । मेरो मलिन अनुहार र डरले कापेको शरीरलाई झन मुसार्दै उहाँले भन्नू भयो —- तिमीलाई जान मन लागेको छ ?
——-मनै त होइन तर पनि गए राम्रो हुन्थ्यो कि सोचेर मात्रै ।
———– तिमीलाई त्यस्तै लाग्छ भने जाऊ नत । कस्तो व्यवहार गर्दा रहेछन् थाहा हुन्छ ।
——— मैले सहमतिमा टाउको हल्लाएँ ।

कुरा करिव एक्काइस वर्ष अगाडिको हो । उहाँ मेरो विद्यालयमा विज्ञान शिक्षकको रुपमा पठाउन आउनु भएको थियो । म त्यतिबेला नौ कक्षामा पढ्दै थिएँ । उहाँको घर धेरै टाढा हुनाले हाम्रो घरको नजिकै कोठा लिएर बस्नुभएको थियो । म पढ्न केही चलाख भएपनि विज्ञान विषय अलिक कठिन लाग्थ्यो । उहाँ घर नजिकै बस्ने हुनाले म लगायत केही साथीहरू भएर ट्युसन पढ्न जान्थ्यौँ । केही समयपछि वार्षिक परीक्षा आयो । म नौ कक्षामा राम्रो अंक ल्याएर उतिर्ण भएँ । म राम्रो अंक ल्याएर पास भएकोमा मभन्दा उहाँ धेरै खुशी हुनुभएको थियो ।

म पढ्न जाने र उहाँपनि हाम्रो घरमा आइरहने हुनाले बोलचाल बाक्लै हुनथाल्यो । म उहाँको बानी व्यवहार देखेर बिस्तारै प्रभावित हुन थालेँ । उहाँले पनि मलाई अति माया गर्न थाल्नुभयो । हाम्रो मायाको बिरुवा झाँङगिदै गयो । विद्यालयले लिने प्रवेशिका ल्याकत परीक्षा पनि आयो । विज्ञान पढ्ने निहुँमा उहाँको कोठामा जान थालेँ । यो मनले खाली उहाँलाई नै देख्न खोज्थ्यो भने उहाँले पनि मेरै पाइला पछ्याउँदै आउनुहुन्थ्यो । हामी एकआपसमा छुट्न नसक्ने अवस्थामा पुग्यौँ । प्रवेशिका ल्याकत परीक्षा पनि आयो र दिएँ पनि । जे होस् राम्रोसँग उतिर्ण गरेँ ।

एस एल सी को लागि म घरबाट केही टाढा गएर पढ्न थालेँ । शहरमा गएर पढ्दा पनि उहाँ लगातार उतै आएर भेट्न थाल्नुभयो । हाम्रो मायालाई गुपचुप राखी परीक्षा सकिएपछि बिहेमा परिणत गर्ने योजना बनाउँदै थियौँ । नयाँ सपना बुनेर सुन्दर भविष्यको सुनौला कल्पनामा डुब्थ्यौँ ।
मेरो जीवन नै उहाँ हो जस्तो लाग्थ्यो । उहाँ विना बाँच्नुको अर्थै देख्दैनथेँ । पढ्न बसे पनि शब्द शब्दमा उहाँका भनाइ र तस्वीर मेरा आँखा वरिपरि घुमिरहन्थे । एकप्रकारले पढाइभन्दा पनि झनै महत्त्वपूर्ण उहाँ नै हो जस्तो लाग्थ्यो ।

हाम्रो झाँङगिएको माया बिस्तारै सबैले थाहा पाउन थाले। सकभर मलाई उहाँबाट छुटाउन खोज्दै थिए । म पाँच जना दाजुभाइकी कान्छी बहिनी थिएँ । तँलाई हामीले जस्तो भन्छेस् त्यस्तै ठाउँमा दिन्छौँ,त्यसलाई छाडी दे भनेर दवाव दिन थाले । मैले यो कुरा स्वीकार्न सकिन । किनकि यो मेरो प्रेम नै जीवन थियो मन र धड्कन् थियो । मलाई माया मानेको देखाउन मेरो साइँलो दाजुले उहाँलाई बेसरी गाली गर्नुभयो र चिर्पटे दाउराले टाउकै टाउकोमा हान्नुभयो । उहाँ बेहोस् भएर भुइँमा ढल्नुभयो । भुइँमा ढलेको देखेपछि मलाई घिच्याउँदै दाइ त्यहाँबाट भाग्न खोज्नुभयो । तर म जान मानिन । उहाँलाई टाउकोमा गहिरो चोट लागेको थियो र रगतका धारा छुटिरहेका थिए । मैले यो अवस्था हेरिरहन सकिन र विद्रोह स्वरुप तत्कालै उहाँसँगै जाने निर्णय सुनाएँर हिँडेँ ।

दाइ रीसले मुर्मुरिँदै मलाई गाली गर्नुभयो र माइती भनेर आए मारिदिने धम्की समेत दिनुभयो । त्यतिमात्र होइन बाबू आमा र अरु दाजुहरूका लागि पनि म मरेको घोषणा गर्नुभयो । मलाई दाइका धम्कीले केही पीडा दिएको थिएन जति पीडा उहाँलाई दिएको सजायले दिएको थियो । त्यो सजायको भागिदार म न‌ थिएँ । उहाँसँग प्रेम मैले गरेकी थिएँ । यदि कसैसँग सच्चा प्रेम गर्नु गल्ती थियो भने त्यो सजाय मैले भोग्नु पर्ने थियो । तर यहाँ त्यो सजायको भागिदार उहाँ बन्नुभयो जसले गर्दा झन् मैले साथ छोड्न चाहिन र छोडिन पनि ।

हामी काठमाडौं छिर्यौ । टाउकाको चोट निको हुन केही समय लागे पनि दिलको चोट निको हुन सकेन । पशुपतिनाथलाई साक्षी राख्दै जिन्दगीमा जस्तो आपत परेपनि साथ नछाड्ने कसम खायौँ र विभिन्न कठिनाईका साथ सुनौलो भविष्य तर्फ अग्रसर भई नै रह्यौँ । केही वर्षमा हाम्रो मायाको चिनो छोरो जन्मियो । बाबुको जन्मसँगै बाबू आमालाई देख्न मन लागेर आयो । त्यसैले खबर पठाएँ तर प्रतिउत्तरमा उहाँहरूले म मरिसकेको खबर पठाउनुभयो ।

दिन बित्दै गए । बाबुपछि अरु थप सन्तान जन्मिए । यतिबेलासम्म माइती पक्षको कुनै देखावटी माया पनि पाएकी थिइन । यस‌ैबीचमा दाजुहरूको बिहे भयो । म बाहेक सबै इष्टमित्र बोलाइए । मलाई केही दु: ख लागेन ।ठिकै छ भनेँ उहाँको र बाबुनानीको मुख हेरेर चित्त बुझाएँ ।

दिन बित्दै गए । आज मैले बिहे गरेको पनि एक्काइसौं वर्ष लागि सक्यो । बुबा आमालाई देख्न त परै जावोस् बोली सुन्नबाट पनि दाजुभाइले मनाही गरिरहे । अहिले उनीहरू सबैका सन्तान जन्मिसकेका छन् । उनीहरूलाई सन्तानको माया कस्त‍ो हुँदो रहेछ भनेर थाहा भइसकेको छ ।दुई दाजुभाइ विदेश छन् । जहाँ उनीहरूले पनि बाहिरी संसारलाई बुझेका होलान् संसारलाई हेर्ने सोच फेरेका होलान् तर मलाई हेर्ने सोच अहिलेसम्म फेर्न सकेनन् ।

कहिलेकाहीँ यसरी अतित सम्झिन मन लाग्छ । माया भनेको यही हो ? आफैँमा प्रश्न गर्छु । आफ्नो सन्तानले बुबा आमाको मुख मात्र देख्छु भन्दापनि देख्न नपाउने कस्तो परिबन्ध । आज तिनै दाइकी छोरीको बिहे हो जस्ले बुबाको अन्तिम घडी हुँदा पनि मलाई बुबाको मुख हेर्नबाट सदाका लागि बन्चित गराए ।
आज दाइले छोरीको रोजाइमा आफूभन्दा अर्को जातको केटालाई हात थमाउँदै छन् । छोरीको रोजाइ ठिक लाग्ने दाइलाई मेरो रोजाइ किन ठिक लागेन ? त्यतिबेलाको समयमा ठिक लागेन भनेपनि एक्काइस वर्षसम्म के सोचिरहे ? उनले पनि छोरीबाट जीवनमा पक्कै केही भरोसा त राखे कै होलान् ? आफ्नी छोरीको जात रोजाइलाई सहज रुपमा स्वीकार्ने दाइले मेरो आफ्नै जात खानदान सबै मिल्नेलाई किन स्वीकार गरेनन् ? छोरी पनि सन्तान हुन् भन्ने सोच भएका दाइहरूले म पनि तिनीहरू जन्मे कै कोखबाट जन्मेकी सन्तान हुँ भन्ने किन ठानेनन् ? बाबाको अन्तिम अवस्थामा मुख हेर्न इच्छा व्यक्त गर्दा पनि किन दिएनन् ?

किन गरे आफ्ना छोराछोरी र बहिनीमा फरक ? दाइकी छोरीले रोज्न पाउँदा मलाई रोज्ने अधिकार किन दिइएन ? के आफ्ना कोखबाट जन्मेका मात्रै सन्तान हुन त ? म पनि मेरा बाबू आमाको कोखबाट जन्मृकी सन्तान हुँ भन्ने किन सोचेनन् । मलाई त्यहाँ गएर एकछाक खाने र एउटा टालो लगाउने आशा थिएन । एकछाकले सधैंको भोक टर्दैनथ्यो र टालोले जीवनभर धान्दैनथ्यो । तर त्यो बेलाको परिस्थिति जे भए पनि सबै बिर्सेर किन बहिनी र भान्जाभान्जी भन्न सकेनन् ?

आज म यही विद्रोहको भाव बोकेर बिहेको निम्तोमा जाँद‌छु । सबै दाजुभाइलाई एकै ठाउँमा राखेर सोध्नेछु — माया भन्नू आफ्नो रगतको नाता टुटाउनु, लत्याउनु हो या के हो ? दिनुहोस् मलाई मायाको परिभाषा ???