श्रीकृष्ण मन्दिर टिकौलीमा बन्यो व्यवसायिक सटर, सांसद खनालले गरे उद्धघाटन

चितवन : पूर्वी चितवनको रत्ननगर १० मा रहेको श्रीकृष्ण मन्दिर टिकौलीद्वारा रत्ननगर ९ मा निर्मित भवनको आज वागमती प्रदेश क्षेत्र (ख) का साम्सद कृष्ण प्रसाद खनालले समुद्घाटन गरेका छन् ।

मन्दिरको आय आर्जन वृद्धिका लागि निर्माण गरिएको श्रीकृष्ण प्रणामी मन्दिरका कार्यवाहक सचिव जगदीशचन्द्र बरालले जानकारी दिए । सो अवसरमा बोल्दै सांसद खनालले नेपालको पर्यटन विकास लागि धार्मिक क्षेत्रको विकास समेत महत्वपूर्ण रहेको भन्दै आफ्नो क्षेत्रमा धार्मिक विकासका लागि आफु कटिवद्ध भएको बताउनुभयो ।

श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका उत्तराधिकारी महन्त श्रीकृष्णराज शास्त्रीको बिशेष उपस्थितिमा आयोजना भएको कार्यक्रममा टिकौली वनका अध्यक्ष ईश्वरी लामिछाने, रत्ननगर वडा नम्बर १० को वडा सदस्य छन्नु चौधरी, रत्ननगर ९ का वडाध्यक्ष रोशन आचार्य, पन्चकन्या सामुदायिक बनका अध्यक्ष धर्मराज अधिकारी, श्रीकृष्ण प्रणामी सेवा समिति जिल्ला कार्यसमितिका अध्यक्ष तिर्थराज सुवेदी, श्रीकृष्ण टोल विकास संस्थाका अध्यक्ष भोजराज लामिछाने, श्रीकृष्ण प्रणामी युवा परिषदका अध्यक्ष बालकृष्ण अमगाईं लगायतले बोलेका थिए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाकी उप प्रमुख विमलादेवी दुवाडी तथा प्रदेश सभा सासंद कञ्चन खनाल विशिष्ठ अतिथिको रुपमा रहनु भएको थियो । कार्यक्रममा बोल्दै सासंद खनालले रत्ननगरमा एकिकृत धार्मिक तथा सांस्कृतिक विकास गर्नुपर्ने बताउनुभयो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महादेवी खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मणिप्रकाश खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रदेश सासंद कोषबाट १० लाख रुपयाँको लागतमा मन्दिर सञ्चालन गर्न ६ वटा सटर निर्माण गरिएको हो । मन्दिरको वृद्धाश्रममा १० जना वृद्धवृद्धाहरु आश्रित छन् ।