अयोध्याधाम माडी नगरपालिका वडा नं. ७ भित्र निर्माण हुनुपर्ने जिकीर

चितवन : रामसीताको भव्य मन्दिरसहितको अयोध्याधाम माडी नगरपालिका वडा नं. ७ भित्र निर्माण हुनुपर्ने जिकीरसहित सो वडाबासीहरुले एक कार्यसमिति गठन गरेका छन् ।
माडी नगरपालिका वडा नं. ७ मै रामको जन्म भएको आधार र प्रमाणहरु रहेको दावीसहित गठित सो कार्यसमितिको अध्यक्षमा धर्मराज खनाल, सचिवमा कृष्णनन्द वत्स र कोषाध्यक्षमा ज्ञानु सापकोटा रहनुभएको छ । समितिका सदस्यहरुमा काशिदत्त पोखरेल, डिल्लीराम च्वाईं, महेन्द्र तिमिल्सिना, विनोद सुवेदी, शोभाखर सुवेदी, कृष्ण पौडेल, रिता पौडेल र मीना काफ्ले रहनुभएको छ ।
बुधबार बिहान वडाबासीहरुको भेलाबाट गठित सो कार्यसमितिले रामको जन्मस्थानका रुपमा वडा नं. ७ का आधारहरु उल्लेख गरी माडी नगरपालिकालाई ज्ञापनपत्र बुझाउन लागेको समितिका अध्यक्ष खनालले जानकारी दिनुभयो । यसअघि सो वडाबासीहरुले सामाजिक सञ्जालमार्फत अयोध्याधाम माडी ७ मा निर्माण हुनुपर्ने माग गर्दै आएका थिए । यता, माडी नगरपालिकाको कार्यपालिका बैठकले भने क्रमशः घाँघर, दक्षिण आयोध्यापुरी र गणेशगञ्जलाई प्राथमिकतामा राखी रामधाम निर्माण स्थलका रुपमा सिफारिस गर्ने निर्णय गरिसकेको छ ।