अर्थतन्त्र गतिशील बनाऊ

सम्पादकीय  : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण गत वर्षको चैत ११ देखि नेपालमा लकडाउन सुरु गरियो । करिब चार महिनापछि लकडाउन खुला गरियो तर स्थानीय प्रशासनले पटक पटक निषेधाज्ञा जारी गरेको छ । जसका कारण देशको अर्थतन्त्र नै धराशायी भएको छ । सरकारले लकडाउन र निषेधाज्ञा गरेर कोरोना नियन्त्रण गर्ने प्रयास गरेको भएपनि पसिल्लो समय सङ्क्रमण बढ्दो क्रममा छ । सुरुआती दिनमा लकडाउनलाई कोरोना नियन्त्रणको अचुक औषधिको रुपमा लिइयो । अहिले भने समुदायमा कोरोना सङ्क्रमित बढ्दै गएपछि लकडाउन मात्रै समाधान होइन भन्ने प्रष्ट भइसकेको छ । त्यसो भन्दैमा हामी पुरानै अवस्थामा फर्कन सक्दैनौँ । आर्थिक वर्षको दोस्रो महिनाको तेस्रो साता आइपुग्दा अब सयौँ योजनाहरु कार्यान्वयनको चरणमा छन् । विभिन्न नाममा देश नै ठप्प पार्ने हो भने अर्थतन्त्र चलायमान हुन सक्दैन ।
अर्थतन्त्रलाई चलायमान बनाउन काम गर्नुपर्छ । विकास निर्माणका काम थालिनुपर्छ । योजना सम्झौता, बजेट निकासा र कार्यान्वयनका लागि लकडाउन बाधक हो । कोरोनालाई चटक्कै भुल्न सकिने अवस्था पनि छैन । एकदुईजना सङ्क्रमित भेटिँदा गरिएको लकडाउन हजारौँ सङ्ख्यामा पुग्दा खुलाउने आवाज उठाउन पनि कठिन छ । तर विकासको गतिलाई रोकियो भने दुईचार महिनामा कोरोना त रोक्न सकिएला तर अरु कति वर्ष भोकै बस्ने अवस्था आउने हो त्यो झनै डरलाग्दो हुने निश्चित छ । समुदायमा कोरोना फैलनुको मुख्य कारण लापरवाही भएको स्पष्टै देखिएको छ । त्यसैले अब अत्यावश्यक काममा निस्कने र आफ्नो काममै लाग्ने संस्कृतिको विकास गर्नु जरुरी छ । तरकारी पसल बिहान बेलुकी खोलेर एक सय जना जम्मा पार्न सकिने, तर फेन्सी पसल खोलेर ४ जना ग्राहक भित्र्याउन किन नसक्ने भन्ने प्रश्न अब उठेको छ ।
अत्यावश्यक सामानको नाउँमा निषेधाज्ञा, लकडाउनकै बीच बजारमा भीड जम्मा भएकै छन् । मर्निङ वाक गरेर नसर्ने, तरकारी किन्दा भीड गरेर नसर्ने, तर फेन्सी, हार्डवयर र अन्य पसल खोलेर कोरोना सङ्क्रमण बढ्ने होइन भन्ने अब सबैले बुझ्न जरुरी भएको हो । एउटा पालिकामा चार सय वटा योजना हिसाब गर्दा एउटै जिल्लामा करिब तीन हजार योजना सञ्चालन हुन्छन् । त्यसमा दशौँ हजारले रोजगारी पाउने र त्यसबाट बजारमा अर्थतन्त्र चलायमान हुने अर्थशास्त्रको सिद्धान्तलाई रोक्न खोजियो भने यो गलत हुनेछ । यो रोकाइले गरिब मुलुकबाट हामी झनझन् दलदलमा फस्न सक्ने सम्भावना बढेको छ । अब विकल्प खोजौँ, तर सबै जनता बजारमा आउनैपर्छ, सडकमा ओर्लनै पर्छ भन्ने होइन । आवश्यक काम परेर मात्र निस्कने भने कोरोना मात्र होइन भोक मेटाउन र आर्थिक सङ्कट पनि समाधान गर्न सकिन्छ । अब नगारिक नै सचेत बन्दै देशको अर्थतन्त्रलाई चलायमान बनाउनु आवश्यक भैसकेको छ ।